२० मईः भारतीय बक्सर निकहत जरीनले आशानुरुप प्रदर्शन गर्दै बिहीवार इस्तानबुलमा महिला विश्व बक्सिंग च्याम्पियनशीपको फ्लाइवेट (५२ किग्रा) वर्गको एकतर्फी फाइनलमा थाईल्याण्डकी जिटपोंग जुटामसलाई ५-०-ले पराजित गरी विश्व च्याम्पियन बन्ने गौरव हासिल गरिन्। तेलंगानाकी बक्सर जरीनले पूरा टुर्नामेण्टको अवधि प्रतिद्वन्द्वी बक्सरहरूमाथि दबाउ सृष्टि गरिन् अनि फाइनलमा थाईल्याण्डकी बक्सरलाई सर्वसम्मत फसेलामा ३०-२७, २९-२८, २९-२८, ३०-२७, २९-२८-ले पराजित गरिन्। यस जीतको साथै २०१९ एशियाई च्याम्पियनशीपमा काँस्य पदक जित्ने जरीन विश्व च्याम्पियन बन्ने केवल पाँचौं भारतीय महिला बक्सर बनिन्। यसअघि ६ पल्टकी विश्व च्याम्पियन एमसी मेरिकोम (२००२, २००५, २००६, २००८, २०१० र २०१८), सरिता देवी (२००६), जेनी आरएल (२००६) र लेखा केसीले विश्व खिताब जितेकी थिइन्। यसबाहेक प्रतियोगितामा यो भारतको चार सालमा पहिलो स्वर्ण पदक हो। यसअघि मेरिकोमले २०१८-मा स्वर्ण पदक जितेकी थिइन्।

पच्चीस वर्षीय जरीनले शक्तिशाली घुस्सीको वर्षा गरेर जुटामसलाई चेपारोमा पारिन्। फाइनल बाउटमा जुटामसले शुरुवात त राम्रो गरेकी थिइन् तर जरीनले चाँड़ै लय हासिल गर्दै प्रतिआक्रमण शुरु गरिन्। पहिलो राउण्डमा रोमाञ्चक लड़ाइँ देख्न पाइयो तर जरीनको घुस्सी अधिक शक्तिशाली र दर्शनीय थियो। भारतीय बक्सरले पहिलो राउण्ड सजिलै जितेपछि दोस्रो राउण्डमा थाई बक्सरले कड़ा चुनौती दिइन्। दुई बक्सरबीच अधिक अन्तर थिएन। यस्तो स्थितिमा स्ट्रेन्थ र स्टेमिनाले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। जरीनले दाहिने हातले शक्तिशाली घुस्सी हिर्काउँदै अन्तिम चरणमा परिणाम आफ्नो पक्षमा गरिन्।
रिंगमा विजेता घोषित गरिएपछि जरीनले भावनाहरूलाई काबूमा राख्न सकिन् अनि रुँदै खुशीले उफ्रिन थालिन्। जुटामस विरुद्ध जरीनको यो दोस्रो जीत हो। भारतीय बक्सरले यसअघि थाईल्याण्डकी बक्सरलाई २०१९-मा थाईल्याण्ड ओपनमा पराजित गरेकी थिइन्। हैदराबादकी बक्सर जरीन यस साल असाधारण लयमा रहेकी छन्। उनी फरवरीमा प्रतिष्ठित स्ट्रेञ्जा मेमोरियलमा दुईवटा स्वर्ण पदक जित्ने पहिलो भारतीय महिला बक्सर बनेकी थिइन्। जरीनकी स्वर्ण पदक बाहेक मनीषा कोन (५७ किग्रा) र पदार्पण गरिरहेकी परवीन हुड्डा (६३ किग्रा)-ले काँस्य पदक जितिन्। टुर्नामेण्टमा भारतको १२ सदस्यीय दलले हिस्सा लिएको थियो। भारतको पदक संख्यामा गत संस्करणको तुलनामा एक पदकको घाटा भएको छ तर चार सालपछि कुनै भारतीय बक्सर विश्व च्याम्पियन बन्यो। महिला विश्व च्याम्पियनशीपमा अहिले भारतको नाममा ३९ वटा पदक भएको छ, जसमा १० वटा स्वर्ण, ८ वटा रजत र २१ वटा काँस्य सामेल छ।









