दार्जिलिङ: दार्जिलिङमा सम्पन्न शहीद दिवस कार्यक्रमवाई सम्बोधन गर्दै जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले शहीदका परिवारको सदस्यलाई जीटीए व्यवस्थाको नियम अनुसार कर्मचारीको रूपमा नियुक्ति दिनेछु भनी बताएका छन्। उनले शहीदहरूको निम्ति हामीले केही गर्न नसके पनि उनीहरूको आत्मा शान्तिको कामना गर्दछु भन्दै पहाडमा अब कुनै शहीद नबनोस् भन्ने हाम्रो चाहना भएर नै नयाँ राजनैतिक अभियान लिएर स्थापना भएको पार्टी हो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा भनी बताएका छन्। थापाले आफ्नो जातिलाई सही बाटोमा लैजानु पर्छ भनेर निस्केर नयाँ राजनैतिक अभियान सुरु गरेको थिए भन्दै मैले जति नै गाली अनि लाञ्छाना खानु परे पनि जातिको निम्ति कोरेको गोरेटोमा म हिँड्नेछु र यही गोरेटो कोर्ने क्रममा पहाडमा यथार्थको राजनैतिक संस्कार कोर्ने कोशिषमा आज म यहाँसम्म आइपुगेको छु भनी बताए। जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले राजनीति अनि भावनालाई बेग्ला बेग्लै राख्नु पर्छ कारण यी दुईको मिश्रण भयो भने हाम्रो दिदी बहिनीको सिन्दुर अझ पुछिन्छ, यो संघर्षमय यात्रामा हामी अझ हिँडिरहेका छौं, हाम्रो यात्रा टुंगिएको छैन भनी बताउँदै हाम्रो यात्रामा मैले एउटै सोच बनाएको छु कि शहीदहरुले देखेको सपना पूरा गर्न पहाडको म असल मार्गदर्शक भएर पूरा गर्नेछु भनी बताएका छन्। उनले अघि भने- “शहीद परिवारहरू कस्तो छन्, उनीहरूको हालत कस्तो छ भनेर सोध्न खोज गर्ने सायद अघिल्लो नेतृत्वहरुले कुर्सीमा आएपछि गरेनन्। आज म जनताले जिताएर जीटीएको चिफ एक्जिक्युटिभ बनेको छु। आज म घोषणा गर्दछु कि शहीदका परिवारको सदस्यलाई जीटीए व्यवस्थाको नियम अनुसार म कर्मचारीको रूपमा नियुक्ति दिनेछु। रतन थापालाई मैले यो विषयमा जिम्मा दिएको छु। कागज पत्र को कामहरू प्रायः पूरा भएको छ।”