कालचिनीः मंगलवार राइमाटाङ चियाबारीस्थित बिरसा चोकमा सादरी विद्यालय स्थापना गर्दै सादरी पाठ्यपुस्तकको भव्य विमोचन सम्पन्न भयो। कार्यक्रममा सहभागी बनेका १५ वटा चियाकमानका प्रतिनिधिहरूलाई टीका र आदिवासी फेटा लगाएर स्वागत गरिएको थियो। कार्यक्रममा उपस्थित आदिवासी साहित्यकार रामकुमार राणा र रामोध टोपवारको हातबाट रिबन काटेर विद्यालयको उद्घाटन गरिएको थियो भने सादान महासभाका अध्यक्ष हरि कुजुरले स्वागत वक्तव्य राखेको थियो। उपस्थित सबै प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए। सादरी पाठ्यक्रम मस्यौदा समितिका अध्यक्ष अमित लोहारले विगत धेरै वर्षदेखि यो काम चलिरहेको बताउँदै आज आएर यसको शुरुवात भएको जनाएका छन्। तिनले यो पहल आदिवासी समुदायका लागि ऐतिहासिक क्षण भएको बताए।
सादरी पाठ्यक्रम पुस्तक तयार गर्न विमला भोक्ता, सञ्जय क्वेरी, माला खड़िया, अनिता माइती, दुलकी खड़िया आदिले मेहनत गरेको पनि सभामा सबैलाई जानकारी गराइएको थियो। राज्य सरकारले एकसयवटा सादरी विद्यालय खोल्ने घोषणा गर्दै यसको निम्ति १ हजार सादरी शिक्षक नियुक्ति गरिने बताएतापनि अहिलेसम्म सरकारले एउटा पनि विद्यालय नखोलेको अनि एकजना शिक्षक पनि नियुक्त नगरेको बताउँदै सबैले सरकारको घोषणा अब कार्यान्वयन होस् भन्नेबारेमा चर्चा एवम् प्रस्ताव लिएको सादरी स्कूल सञ्चालन कमिटीको सदस्यहरूले जनाएका छन्।