लण्डन, १६ जनवरीः अर्जेण्टिनाका स्टार फूटबलर लियोनल मेस्सीले चार सालमा तेस्रोपल्ट फिफा पुरस्कारहरूमा सालका सर्वश्रेष्ठ पुरुष फूटबलरको खिताब जिते। यसपाली उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी एर्लिंग हालाण्डलाई पछि छोड़े। यसरी नै महिलाहरूमा ऐताना बोनमतीले सर्वश्रेष्ठ फूटबलरको पुरस्कार जितिन्। भव्य समारोहमा स्पेन र बार्सिलोनाकी स्ट्राईकर बोनमतीलाई फिफा पुरस्कारहरूमा सर्वश्रेष्ठ महिला खेलाड़ीको पुरस्कार प्राप्त भयो। म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले २०२३-को निम्ति सर्वश्रेष्ठ पुरुष प्रबन्धकको पुरस्कार जिते जबकि ईंग्ल्याण्डकी प्रशिक्षक सरीन विगम्यानले रेकर्ड चौथोपल्ट सर्वश्रेष्ठ महिला प्रशिक्षकको पुरस्कार जितिन्। म्यानचेष्टर सिटीका एडरसनले सर्वश्रेष्ठ पुरुष गोलकीपरको पुरस्कार जिते जबकि म्यानचेष्टर युनाइटेड र ईंग्ल्याण्डकी स्टार खेलाड़ी मेरी इयरप्सले लण्डनमा भएको समारोहमा सर्वश्रेष्ठ महिला गोलकीपरको पुरस्कार जितिन्।
मेस्सी र हालाण्डबीच टाईब्रेकरः
लियोनल मेस्सीले अर्जेण्टिनाई टीमलाई कतरमा भएको फिफा विश्व कपमा च्याम्पियन बनाउनमा आफ्नो महत्त्वपूर्ण योगदानको निम्ति २०२२-मा सर्वश्रेष्ठ खेलाड़ीको पुरस्कार जितेका थिए। पेरिस सेण्ट जर्मेनसँग लीग वन खिताब जितेपछि अनि मेजर लीग सकरमा आफ्नो पहिलो सीजनमै इण्टर मियामीलाई च्याम्पियन बनाएपछि मेस्सी फेरि एकपल्ट यस पुरस्कारको होड़मा थिए। मेस्सीले म्यानचेष्टर सिटीको तर्फबाट सबै प्रतियोगिताहरूमा ५२ गोल गर्ने नर्वेका युवा फूटबलर हालाण्ड र आफ्ना पूर्व साथी खेलाड़ी कीलियन एम्बाप्पेलाई पछि छोड़ेर यसपाली पुरस्कार जिते। मेस्सीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२२-मा पनि यस पुरस्कारलाई जितेका थिए। यसरी उनले जम्मा आठौंपल्ट फिफा सालका सर्वश्रेष्ठ पुरुष फूटबलरको खिताब जिते। पुरस्कारको निम्ति फिफा रेटिंग प्रणालीमा मेस्सी र हालाण्ड ४८-४८ अंकको साथ बराबरीमा थिए तर राष्ट्रिय टीमका कप्तानहरूका अधिक भोटले गर्दा मेस्सीले पुरस्कार जिते। सर्वश्रेष्ठ पुरस्कारहरूका निर्णय राष्ट्रिय टीमहरूका कप्तान, प्रशिक्षक, पत्रकार र प्रशंसकहरूका भोटको गन्तीपछि गरिन्छ। भोट दिनहरूमा भारतीय कप्तान सुनिल छेत्री, हेरी केन र मोहम्मद सलाह पनि सामेल थिए। अर्जेण्टिनाका कप्तानले आफू, एम्बाप्पे र आफ्ना साथी जूलियन अल्वारेजभन्दा अघि हालाण्डलाई भोट गरेका थिए।
ऐताना बोनमती सर्वश्रेष्ठ महिला फूटबलरः
क्लब र अन्तर्राष्ट्रिय स्तरमा एउटा असाधारण सीजनपछि बार्सिलोनाकी ऐताना बोनमतीले २०२३-को निम्ति सर्वश्रेष्ठ महिला खेलाड़ीको पुरस्कार जितिन्। पच्चीस वर्षीय मीडफिल्डर यस प्रतिष्ठित पुरस्कारको हकदार पनि थिइन्। उनले २०२३-मा स्पेनलाई पहिलो विश्व कप खिताब अनि बार्सिलोनालाई घरेलु र यूरोपेली खिताब दिलाएकी थिइन्। पुरस्कार जितेपछि बोनमतीले भनिन्, म सबै नामांकितहरूलाई बधाई दिन चाहन्छु। मलाई ती महिलाहरूकी शक्तिशाली पीढ़ीको हिस्सा बनेकोमा गर्व छ, जो खेल र विश्वका नियमहरू बद्लिरहेकी छन्। यसबीच ब्राजीलका फूटबलर गुइलहर्मे माद्रुगाले उनको दर्शनीय ब्याक भली गोलको निम्ति प्रतिष्ठित पुस्कस पुरस्कार जिते। फिफा फेयर प्ले पुरस्कार ब्राजीलको राष्ट्रिय टीमले हासिल गऱ्यो।