रूसद्वारा दक्षिणी युक्रेनमा ठूलो मिसाइल आक्रमण

रुस–युक्रेन युद्धमा रुसी सेनाले मङ्गलबार डोनेट्स्क क्षेत्रमा हवाई आक्रमण बढाएको छ। रुसले बाख्मुट, चासिभ यार, स्लोभियास्क र कोस्ट्यान्टिनिभका सहरहरूमा भारी मिसाइल आक्रमण गरेको छ। युक्रेनले रुसी सेनाले ग्रामीण क्षेत्र र शहरी क्षेत्रहरूमा नागरिक लक्ष्यहरूमा आक्रमण बढाएको बताएको छ। युक्रेनी अधिकारीहरूले रुसले ओडेसा र माइकोलाइभ क्षेत्रमा मङ्गलबार क्षेप्यास्त्र आक्रमणलाई तीव्र पारेको बताए। ओडेसा बन्दरगाहमा युक्रेनी खाद्यान्न निर्यात पुनः सुरु गर्न अनुमति दिने सम्झौताको केही दिनपछि नै आक्रमण बढेको छ।

युक्रेनको दक्षिणी अपरेशनल कमाण्डले फेसबुकमा भन्यो, ‘कालो सागरबाट युक्रेनी शहरहरूमा ठूलो मिसाइल हमला भएको छl’ तटीय बस्तीमा भएका यी आक्रमणका कारण धेरै घर जलेर नष्ट भएका छन्। उद्धारकर्ता घटनास्थलमा खटिरहेका छन्। तर, बंकरमा सर्वसाधारण बसेकाले कुनै हताहत भएको छैनl’ रुसी ऊर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम-१ पाइपलाइनले बुधबारदेखि युरोपमा ग्यासको प्रवाह २० प्रतिशतले घटाउने बताएको छ। मरम्मतसम्भारमा समस्या भएको कम्पनीले जनाएको छ। अर्कोतर्फ, युरोपेली संघका ऊर्जा प्रमुखले यसलाई राजनीतिक रूपमा प्रेरित भनेका छन्।

ल्याटिन अमेरिकी देश ग्वाटेमालाका राष्ट्रपति एलेजान्ड्रो गियामाट्टाईले कीभमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेर आफ्नो ऐक्यबद्धता देखाएका छन्। उनी युक्रेन भ्रमण गर्ने पहिलो ल्याटिन अमेरिकी राष्ट्रपति बनेका छन्। धेरै ल्याटिन अमेरिकी नेताहरूले युक्रेनमा रूसी आक्रमणलाई लिएर अडान लिन अस्वीकार गरेका छन्। यो सम्भवतः रूससँग यी देशहरूको दशकौं पुरानो सम्बन्धको कारण हो। ग्यामट्टाईले भने, ‘हामी युक्रेनको साथमा दृढ छौँ। ग्वाटेमाला न चुप छ न चुप रहनेछl’

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले जर्मनीबाट पहिलो गेपार्ड एयर डिफेन्स सिस्टम युक्रेन आइपुगेको घोषणा गरेका छन्। युक्रेनले पनि हजारौं राउण्ड गोलाबारुद प्राप्त भएको पुष्टि गरेको छ। यी एन्टी-एयरक्राफ्ट सिस्टमहरू हुन्। ‘हामी हाम्रो आकाश प्रतिरक्षा क्षमता बलियो बनाउनेछौं,’ रेज्निकोभले भने। गेपर्ड रक्षा प्रणाली जर्मनीले नेटोका अन्य सदस्य राष्ट्रहरूसँग मिलेर विकास गरेको हो। उनले जर्मनीले युक्रेनलाई शत्रुका तोपखाना पत्ता लगाउन राडार प्रणाली पनि उपलब्ध गराउने बताए। रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) छोड्ने निर्णय गरेको छ। रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका नयाँ प्रमुख युरी बोरिसोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। क्रेमलिनले दिएको जानकारीअनुसार उनले राष्ट्रपतिलाई भने, ‘हामी सहभागीहरुप्रति हाम्रा सबै दायित्व पूरा गर्नेछौंl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement