खरसाङ: खरसाङको नयाँ बजारस्थित दुर्बीन डाँड़ामा रहेको शहीद वेदीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा शहीद दिवस पालन गरिएको छ। शहीद दिवसको अवसरमा बिहान खरसाङदेखि शहीदहरूको स्मृतिमा रन फर हाम्रो शहीद सुरु गरिएको थियो भने दुर्बीन डाँड़ामा रहेको शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम यसपाली प्रत्येक समष्टीहरूमा नै आयोजना गरिएको कारणले गर्दा खरसाङमा यसपाली दुईवटा समष्टिहरू खरसाङ देवराली समष्टि र खरसाङ गिध्द पहाड़ समष्टिलाई लिएर आयोजना गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। शहीद दिवस आयोजक समितिको मुख्य सल्लाहकार आशा मुखिया लामाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मुख्य अतिथि सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, मुख्य संयोजिका अनु छेत्री प्रधान, भागोप्रमो केन्द्रीय सदस्यहरू लक्ष्मण राई र समीरदीप ब्लोन लगायत खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ लगायत अन्य पदाधिकारीहरू, भूतपूर्व सैनिक संगठनको पदाधिकारीहरू, विभिन्न भातृ संगठनको पदाधिकारीहरूद्वारा शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए।

भूतपूर्व सैनिक संगठनका पदाधिकारीहरूद्वारा सलामी दिएर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै कार्यक्रममा शुरु गरिएको थियो। कार्यक्रमक प्रमुख अतिथि सभासद श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै आफ्नो जाति र माटोको लागि बलिदान दिने शहीदहरूलाई मेरो आन्तरिक ह्रदयबाटै श्रध्दाञ्जली अर्पण गर्दछु भनी बताएका छन् । उनले शहीदहरूले दिएको बहुमूल्य योगदानलाई हामी कहिले पनि भुल्ने छैनौं भनी बताएका छन्। त्यसरी नै खरसाङमा शहीद दिवस कार्यक्रम विषयमा अायोजक समितिको संयोजिका अनु छेत्री प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै आज खरसाङमा दुईवटा समष्टिहरू क्रमैले २८ र २९ नम्बर समष्टिहरूलाई लिएर शहीद दिवस पालन गरिएको बताउँदै यस अवसरमा बिहान रन फर हाम्रो शहीद नामक दौड कार्यक्रम खरसाङबाट शुरु गरिएको र खरसाङको दुर्बिन डाँडास्थित शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम गरिएको बताइन्। उनले दोस्रो सत्रको कार्यक्रममा नयाँ बजारस्थित सार्वजनिक भवनमा शहीदका परिवारहरूलाई सम्मान जनाइने तथा युवा शक्तिको आयोजनामा रक्तदान शिविर पनि आयोजना गरिएको जानकारी गराइन्।