गान्तोक: सीमा सडक संगठनको प्रयास र मेहनतले उत्तर सिक्किमको सीमा क्षेत्रलाई सबल बनाउने दिशामा नयाँ उर्जा मिलेको छ। सीमा सडक संगठनको प्रयासमा साङ्कलनमा टिस्टा नदीमाथि चार सय फीट लम्बाई भएको बेली पुल रेकार्ड समयमा निर्माण गरेर देशलाई समर्पित गरिएको।
यस पुलको उद्घाटन पछि जनकार्य विभागीय मन्त्री साम्डुप लेप्चाले सेना दिवसको अवसरमा उनीहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रको नाममा समर्पित भएको बताएका छन्। गत वर्ष ४ अक्टोबरमा आएको विनाशकारी बाढीले उत्तर सिक्किमको महत्त्वपूर्ण पूर्वाधारहरू व्यापक रूपमा क्षति पुऱ्याएको थियो जसमा तेह्रवटा पुलहरूसहित २०-२५ किमी सडक सञ्जाल पूर्णरूपले बगाएको थियो भने धेरै सरकारी प्रतिष्ठान सहित स्थानीय जनताको अचल सम्पत्ति र घरहरू पूर्णरूपले क्षति पुऱ्याएको थियो।
यसै पुलको निर्णाणले उत्तर सिक्किममा पुनः सडक सम्पर्क जोडिने काम भएको छ भने देशको सामरिक क्षेत्रलाई पनि थप सशक्त बनेको छ। सीमा सडक संगठनले यस्तो साहसिक कार्य विनाशकारी बाढी पछिको धेरै चुनौतीहरूलाई चिर्दै रेकार्ड समयमा बेली पुलको निर्माण कार्य पुरा गरेको छ।
यसरी नै भयावह स्थितिबाट माथि उठ्दै तत्काल राहतको रूपमा, सीमा सडक संगठनले सेनासँगको समन्वयमा दुई महिनाको छोटो अवधिमा सांक्लाङ, चुङ्थाङ र जीमामा क्षेत्रमा धेरै बेली पुलहरू निर्माणपछि सञ्चालन गरी सकेको छ। सीमा सडक संगठनद्वारा द्रुत गतिमा पुनर्स्थापना कार्यलाई अघि बढाउदै सशस्त्र सेना र चुङ्थाङ, लाचुङ र लाचेनमा बसोबास गर्ने स्थानीयहरूको लागि खाद्य आपूर्ति श्रृंखलाको पुन: स्थापना गर्न सक्षम बनेको छ। साङ्कलाङ र जिमालाई जोड्ने यस बेली ब्रिजले सडक सम्पर्कलाई पुनः सञ्चालनमा ल्याएको छ।
सबै बाधाहरूलाई पन्छाउँदै, बीआरओका साहसी कार्यदलले ठण्डा मौसम र कडा चिसोको बाबजुद डबल सिफ्टमा दिनरात काम गरेका थिए भने तिनीहरूको भरिगथ प्रयासका कारण तीन महिनाभन्दा कम समयमा पुनः पुलको निर्माण कार्य सम्पन्न गर्न सफल बनेका छन्। आज सेना दिवसको अवसरमा, उनीहरूको नि:स्वार्थ राष्ट्र सेवामा समर्पित भएको भन्दै जनकार्य विभागीय मन्त्री लेप्चाले साङ्कलाङमा निर्मित ४०० फिट झोलुङ्गे पुल राष्ट्रलाई समर्पित गरेका छन्।
यस अवसरमा जङ्गु विधानसभाका विधायक पिन्छो नामग्याल लेप्चा, जोङ्गुका पञ्चायत सदस्यहरू, मङ्गन जिल्लाका जिल्लाधिकारी, पुलिस अधिक्षक साथै स्थानीय जनता र राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थित रहेको थियो।









