गान्तोक: सप्ताहव्यापी सडक सुरक्षा सचेतना अभियान अन्तर्गत आज चौथो दिन देउरालीको सिलगढी ट्याक्सी स्टयाण्डमा सचेतना कार्यक्रम आयोजना गरियो। नेहरू युवा केन्द्र गान्तोक र ट्राफिक पुलिस गान्तोक- पाकिमको संयुक्त पहलमा आयोजना गरिएको यस कार्यक्रममा एकसय भन्दा अधिकले माई भारत लेखेको टी सर्ट र टोपी लगाएर सहभागिता जनाएका थिए। यस अवसरमा डीएसपी बिमल गुरूङले ट्राफिकको नियम र कानूनबारे विस्तृतरूपमा जानकारी गराए। यसरी नै ट्राफिक पुलिस गान्तोकका सडक सुरक्षा प्रशिक्षक नरेन राईले सडक दुर्घटनाको कारणहरूबारे अवगत गराए। गान्तोकमा आगामी दिनमा लागू हुने एआई रेगुलेटेड ट्राफिक प्रणालीको बारेमा जानकारी गराइएको बताए। स्वयंसेवकहरूद्वारा चालकहरूलाई सडक सुरक्षा नियम र आईईसी सामग्रीहरू वितरण गरिएको थियो।