दुई हजार केजी चामलको भाक्का निःशुल्क वितरण
झापा (नेपाल): राष्ट्रिय भाक्का (भाका) दिवस झापामा विविध सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ। राजबंशी समाज विकास समितिको आयोजनामा प्रत्येक बर्षको पुष २९ गते (१४ जनवरी) हुँदै आएको भाक्का दिवस झापामा मनाइएको हो। सन् २०१८ देखि मनाउन शुरु गरेको भाक्का दिवसको यो सातौं संस्करण हो। विषेशगरी पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजबंशी समुदायले खाजाका रुपमा भाक्का उपभोग गर्दै आएका छन्। यो परिकारको प्रचार–प्रसार गर्नका लागि राजबंशी समाज विकास समितिले १४ जनवरीमा भाक्का दिवसको रुपमा मनाउन थालेको हो। भाक्का दिवसको सातौं संस्करणमा झापाको भद्रपुर र बिर्तामोडमा वृहत सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ। भाक्का दिवसको अवसर झापा क्षेत्र नम्बर ३ अन्तरगतका तीनवटा स्थानीय तहले आइतबार बिदा दिएको छ।
भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिइएको हो। ती स्थानीय तहमा अति आवश्यक कामबाहेक कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहेको जनाइएको छ। भाक्का दिवसको अवसरमा झापाका स्थानीय तहले पहिलो पटक बिदा दिएको हो। आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भाक्कालाई हरेक वर्ष १४ जनवरीलाई दिवसको रुपमा मनाउने बताएका छन्। राजवंशी समाज विकास समिति झापाले बिर्तामोडको डोमालाल राजबंशी रंगशाला र भद्रपुर–६ स्थित सिटी गार्डेन होटेलमा प्रथम राष्ट्रिय भाक्का दिवस मनाएका छन्। बिर्तामोडमा १५० जना र भद्रपुरमा २५ जनाले सामूहिक रुपमा माटोको भाडामा भाक्का बनाएका छन्।

समाजका अध्यक्ष अभय राजबंशीका अनुसार बिर्तामोडमा हजारौंले भाक्का उपभोग गरेका छन्। उनले दुई हजार केजी चामलको भाक्का निःशुल्क वितरण गरिएको बताए। विभिन्न स्वादका अचार र तरकारीसहितको स्टल राखेर भाक्का वितरण गरिएको उनले बताए। भद्रपुरमा दुई हजारदेखि २५ सय जनालाई निःशुल्क भाक्का खुवाइएको थियो।

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भाक्का दिवस मनाउँदै आएको उनको भनाइ छ। कार्यक्रमलाई भव्य बनाउन भारतीय गायिका नीलाञ्जना रायले सांगीतिक प्रस्तुति दिएकी थिइन्। भारतीय रियालिटी शोबाट राय सांगीतिक क्षेत्रमा उदाएकी हुन्। भारतको पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इण्डिया किड्सको उपविजेता र २०१८ को इण्डियन जुनियरमा तेस्रो भएकी थिइन्।

राजवंशी समुदायका छोरीचेलीलाई चिसो छल्न माईत बोलाई भाक्का खुवाएर खुसी बनाउने चलन छ। भाक्का राजवंशी समुदायको मौलिक परिकार हो। जाडोयाम शुरु भएसँगै चोक चोकमा विहान बेलुका भाक्का बनाएर बेच्ने चलन छ। चामलको पिठोबाट पानीको तातो बाफले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ। कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, बन तथा वातावरणमन्त्री गणेश उप्रेतीले गरेका थिए। उनले आदिवासीको मौलिक परिकार भाक्काको माध्यमबाट पनि पर्यटन विस्तार गर्न सहयोग पुग्ने धारणा राखेका थिए।