गान्तोक: पाकिम जिल्ला अन्तर्गत आसाम लिञ्जेको सिकोनमा एसकेएम पार्टीको सांगठनिक एवम् जनसभा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले एसकेएम पार्टीले पाँच वर्षको अवधिमा स्वास्थ्यको क्षेत्रमा क्यूबा देशले भन्दा कम काम नगरेको बताए।
विशेष गरेर वर्तमान सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकता दिँदै काम गरेको उनले अवगत गराए।
उनले जानकारी गराए अनुसार आगामी २०२४ को चुनाउमा रोगी र उनीहरूको परिवारको भोटले मात्र धेरैवटा निर्वाचन क्षेत्रमा एसकेएम पार्टीले बिजय हासिल गर्नेछ। राज्य सरकारले राज्यका धेरैजना रोगीहरूलाई राज्य बाहिर निःशुल्क उपचार गरेर नयाँ जीवन प्रदान गरेको छ। यसरी हजारौंको संख्यामा रोगीहरूको उपचार गरिसकेको र हाल उनीहरू स्वास्थ्य जीवन बिताइरहेको उनले अवगत गराए।
उनले प्रसङ्ग फेर्दै पूर्व मुख्यमन्त्री पवन चामलिङले १९९३ मा एसडीएफ पार्टी गठन गर्दा सिक्किमलाई राम्रो बनाउँछु भन्ने उद्देश्य नरहेको र राज्यमा बसोबासो गर्नेहरूलाई विभाजन गरेर राजनीति गर्छु भन्ने सोंच राखेको ठोकुवा गरे। चामलिङले जात जातमा विभाजन गरेर जातको सीढी चडेर सत्ता पुगे, तर कुनै पनि जातको नाममा धरोहर निर्माण नगरेको किटान गरे। सिक्किम राज्यमा एसकेएम पार्टीको सरकार आएपछि मात्र यहाँ बसोबासो गर्नेहरूले न्याय पाएको जानकारी गराए।
वर्तमान सरकार साथै पार्टीले कुनै पनि जातलाई अन्याय नगरेको बताउँदै यदि कुनै पनि जातलाई अन्याय गरेको प्रमाणित छ भने आफूले राजनीतिक सचिवको पद नै छोड्ने घोषणा गरे। वर्ष २०१९ को चुनाउमा एसडीएफ पार्टी हारेपछि आगामी दिनमा सम्पन्न हुने चुनाउको निम्ति ब्राह्मास्त्रकोरूपमा विदेशबाट यूट्युबर ल्याएर जातको राजनीति गर्ने प्रयास गरेको बताए। तर वर्तमान सरकार साथै एसकेएम पार्टी मेटिएर जान्छ, तर सिक्किमको अस्तित्वमाथि खेलवाड गर्न नदिने प्रण गरे।