गान्तोकः पूर्व विधायकहरूको सङ्गठन पूर्व विधायक परिसङ्घले आज आफ्नो स्थापना दिवस पालन गऱ्यो। यो सङ्गठन आजभन्दा २० वर्ष अघि नै स्थापित भएको अनि सक्रिय अवस्थामा रहे तापनि स्थापना दिवस भने आज पहिलोपल्ट पालन गरेको हो। राजधानीको मनन केन्द्रमा आयोजित भव्य २०औं स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थि थिए। कार्यक्रममा धेरै सङ्ख्यामा पूर्व विधायक अनि सांसदहरूको उपस्थिति रहेको थियो। उल्लेखनी छ, वर्ष १९७५मा प्रजातन्त्र आएदेखि सिक्किम राज्यमा अहिलेसम्म १९९ जना विधायक निर्वाचित भएका छन् भने १५ जना लोकसभा एवं राज्यसभा सांसद चुनिएका छन्। ती मध्ये ७६ जनाको स्वर्गवास भइसकेको छ।
आजको दिन पूर्व विधायकहरू तथा पूर्व विधायक परिसङ्घको नाममा रह्यो। मनन केन्द्रमा दिनभरिको भव्य कार्यक्रममा उपस्थिति जनाउन अघि मुख्यमन्त्री प्रेम सिंह तामाङले बिहान स्थानीय डीजल पावर हाउस परिसरमा अवस्थिति एउटा सरकारी घर पूर्व विधायक परिसङ्घलाई कार्यालया तथा अतिथिगृहको रुपमा प्रयोग गर्न प्रदान गर्दै त्यसको विधिवत उद्घाटन पनि गरे।

आजको कार्यक्रममा पहिलो सिक्किम विधानसभाका ३ अनि दोस्रो विधानसभाका जीवित ९ सदस्य साथै चारजना पूर्व सांसदहरूलाई अभिनन्दन जनाइयो। आज अभिनन्दित हुने पहिलो विधानसभाका सदस्यहरूमा मोहन गुरुङ, आरसी पौड्याल र नरबहादुर खतिवड़ा रहेका छन् भने दोस्रो विधानसभाका सदस्यहरूमा पीएल गुरुङ, सामतेन छिरिङ भोटिया, डाडुल भोटिया, डाउगेल पिन्चो भोटिया, आतुप लेप्चा, मोहन प्रसाद शर्मा, केएन उप्रेती, डीबी ठटाल अनि सोनाम छिरिङ भोटिया रहेका छन्। यसरी नै पूर्व सांसदहरू पहलमान सुब्बा, दिल कुमारी भण्डारी, नन्दु थापा र सोलमन सारिङलाई पनि अभिनन्दन जनाइयो। सोलमन सारिङ कतिपय कारणवश कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको छोराले अभिनन्दन ग्रहण गरे। यसको साथै पूर्व विधायक परिसङ्घले पहिलो अनि दोस्रो राज्य विधानसभाका दिवङ्गत मुख्यमन्त्री, मन्त्री अनि विधायकहरूका परिवारका सदस्यहरूलाई पनि मुख्यमन्त्री प्रेम सिंह तामाङको बाहुलीबाट सम्मान जनायो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङले यसरी सबै पूर्व विधायक एवं सांसदहरूलाई सम्झना गर्दै एउटै मञ्चमा ल्याउने र अभिनन्दन जनाउने कार्यको प्रशंसा गरे। २०औं स्थापना दिवस सफलतापूर्व आयोजना गरेकामा राज्य सरकारको पक्षबाट बधाई साथै धन्यवाद दिनुभयो। आ-आफ्नो रोजाइको पार्टीमा रहेर पूर्व विधायक परिसङ्घको सदस्य बन्न सक्ने बताउँदै यस सङ्गठनको कार्यक्रममा आउनु भनेको सत्तारुढ़ पार्टीमा सामेल हुनु कदापी नरहेको पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा स्पष्ट पारे।
यस विशेष अवसरमा मुख्यमन्त्रीले पूर्व विधायकहरूको हितमा केही घोषणा पनि गरे जसमा कार्यालय तथा अतिथिगृहको रुपमा आज मात्र प्रदान गरिएको सरकारी घर भएको जमीनमा भोलीको दिनमा सरकारले नै नयाँ भवन निर्माण गरिदिने, पूर्व विधायकहरूलाई स्वास्थ्य सुविधा उपलब्ध गराइने, पूर्व विधायकहरूले पाउँदै गरेको पेन्सनमा बड़ोत्तरी गरिने, राज्य बाहिर जाँदा सिक्किम हाउसहरूमा तीन दिनसम्म निःशुल्क बस्ने व्यवस्था गरिने आदि प्रमुख रहेको छ। यसै क्रममा बोल्दै पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको परिवारको इच्छाअनुसार उनको पेन्सन नरबहादुर भण्डारी डिग्री कलेज, तादोङका मेधावी विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गरिने पनि मुख्यमन्त्री प्रेम सिंह तामाङले आज घोषणा गरे।