गान्तोक: भारत सरकारद्वारा लागू अग्निवीर योजना सम्बन्धि पूर्व सिक्किमको राङ्का खेल गाउँमा युवाहरूलाई तालिम दिने कार्यक्रम भइरहेको छ। आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भातृ संगठन, सामाजिक सेवा प्रकोष्ठको उपाध्यक्ष मिङ्मा लामु भोटियाले युवा विकास कोष मार्फत प्रशिक्षार्थीहरूलाई आवश्यक सामाग्रीहरू वितरण गरिन्। स्मरण रहोस्, विगत दुइ वर्षमा भएको सशस्त्र बलको कमीलाई पूरा गर्ने उदेश्यले प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन् सेक्युरिटीद्वारा अग्निपथ योजना शुरू गरिएको हो। यस योजना अन्तर्गत १७ देखि २१ वर्षको उमेरवर्गका युवा पुरुष र महिलाहरू भारतीय सशस्त्र बलमा भर्ना हुन पाउनेछन् र उनीहरूलाई अग्निवीरको रूपमा चिन्हित गरिने भएको छ। उनीहरूको कार्यकाल पूरा भएपछि विभिन्न पुलिस सेवाहरूमा सोझै भर्ना प्रदान गर्न सकिने सम्भावना पनि रहेको छ। प्रधानमन्त्री मोदीको यस निर्णयलाई समर्थन गर्दै सिक्किममा पनि युवाहरूलाई यसको तयारीबारे प्रशिक्षण दिने काम भइरहेको छ भने आज सामाजिक सेवा प्रकोष्ठको उपाध्यक्ष मिङ्मा ल्हामु भोटियाले प्रशिक्षार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै युवा विकास कोषमार्फत विभिन्न सामाग्री प्रदान गरेकी छन्।