खरसाङ: खरसाङ खण्ड अन्तगर्त लंगभ्यु अस्पताल लाइनमा स्वास्थ केन्द्रको निर्माण कार्यको लागि शिलान्यास जीटीए महिला एंव बाल कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट विधिवत् पूजा अर्चनासहित सम्पन्न गरिएको छ। ५७ लाख ७० हजारको लागतमा निर्माण हुन गइरहेको स्वास्थ केन्द्रको निर्माण कार्यको शिलान्यासले क्षेत्रवासीमा खुशीको लहर छाएको बताइएको छ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभासद कल्पना प्रधानले लंगभ्यु क्षेत्रमा निर्माण हुन गईरहेको स्वास्थ केन्द्रको निम्ति क्षेत्रवासीको पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापा अनि कार्यकारी सभासद अरूण सिंग्चीप्रति कृतज्ञता प्रकट गरिन्।

लंगभ्यु चियाबारीको अस्पतालको अवस्था दयनीय भएको कारणले स्वास्थ केन्द्रको निर्माणले क्षेत्रवासीलाई धेरै सुविधा हुने जनाइन्। उनले आफ्नो सम्बोधनमा ठेकेदारले गुणस्तरीय कार्य गरिदिने अनुरोध गरिन् साथै क्षेत्रवासीलाई पनि ठेकेदारलाई सहयोग गरिदिने अपील गरिन्। उक्त शिलान्यास कार्यक्रममा पञ्चायत प्रधान एंव समष्टि सभापति मणिराज डुम्जन, उप-प्रधान सन्तोष लामा, समिति सदस्य मौसम लामा, पञ्चायत सदस्य बिमला लामा, सुब्रता लकान्द्री, दिपिका लामा, निरज डुम्जन, भागोप्रमो खरसाङ महुकमा समिति सदस्य सुरज लामा, समष्टि सचिव ललित प्रधान, सहसचिव कुणाल छेत्री, समष्टि सदस्य आशिष लामा, प्रचार प्रसार सचिव जिनोद परियार आदिको विशेष उपस्थिति रहेको थियो।