साहित्यकार  नरबहादुर दाहाल स्मृति पुरस्कार युवा सर्जकलाई दिइने निर्णय

Nar-Bahadur-Dahal

सुकना: भारतीय नेपाली साहित्यका सर्वोच्च शिखर पुरुष मानिएका साहित्यकार नरबहादुर दाहालको स्मृतिमा यसै वर्ष सेप्टेम्बर महिनामा दिइने नरबहादुर दाहाल स्मृति पुरस्कार सम्बन्धमा सुकना साहित्यिक-सांस्कृतिक संस्थानको सभा सुकनास्थित सार्वजनिक भवनमा संस्थानका सभापति सूर्यमणि शर्माको अध्यक्षतामा केही दिनअघि सम्पन्न भएको थियो। सभाको औचित्यबारेमा संस्थानका मूल सचिव जे.बी.बस्नेतले जानकारी दिदैँ संस्थानद्वारा आगामी सेप्टेम्बर महीनामा साहित्यकार नरबहादुर दाहालको जन्म मिती, पुण्य तिथी र संस्थानको स्थापना दिवसलाई केन्द्र गरेर नरबहादुर दाहाल स्मृति पुरस्कार प्रदान गर्ने साथै यस वर्ष संस्थानको रजत जयन्तीको उपलक्ष्यमा एउटा स्मारिका प्रकाशित  गरिने बताए। संस्थानका साहित्य विभागका सचिव  प्रा.मेघनाथ छेत्रीले  नरबहादुर दाहाल स्मृति पुरस्कार चयन प्रक्रियाबारे आफ्नो मन्तव्य राख्दै नरबहादुर दाहालले आफ्नो जीवनकालमा विशेष गरी युवाहरूलाई साहित्य लेखनमा धेर प्रेरित गरेका हुनाले साथै आफू ८६ वर्षको हुँदासम्म तथा मृत्युपर्यन्त नै एक युवा सरह जोश र उत्साहका साथ  लेखनमा साथै विभिन्न साहित्यिक समारोहहरुमा सहभागी हुने गर्थे। उनको अमूल्य योगदानलाई  कदर गर्दै उनको स्मृतिमा दिइने नरबहादुर दाहाल स्मृति पुरस्कार प्रत्येक वर्ष कुनै एक युवा सर्जकका श्रेष्ठ कृतिलाई दिने निर्णय लिएको कुरो बताए। पुरस्कारको चयन प्रक्रियालाई अब चाँडै अघि बढाइने अनि यस कार्यमा सबैको सहयोगको अपेक्षा राखिएको कुरो जनाए। आफ्ना बाबुको स्मृतिमा प्रत्येक वर्ष दिइने उक्त पुरस्कारको लागि परिवार पक्षबाट यथासक्य सहयोग गर्ने कुरो नरबहादुर दाहालका छोरा दाहाल र छोरी कल्पना दाहालले बताएका छन्। संस्थानको आय-व्ययको विवरण दिँदै संस्थानका कोषाध्यक्ष कृष्ण छेत्रीले  नरबहादुर दाहाल स्मृति पुरस्कार, संस्थानको रजत जयन्ती स्मारिका, रजत जयन्ती समारोह आदि सम्पन्न गर्न सबैलाई आर्थिक सहयोग गर्ने निवेदन गरेका थिए। सभामा अञ्जु छेत्री, मीरा राई, के.के.विश्वकर्मा, नवराज छेत्री, अरुणा छेत्री (प्रधान), सुरेन प्रधान, दुर्गा शर्मा, अशोक प्रधान, ध्रुव छेत्री, आशा प्रधान, ज्योतिका छेत्री, डम्बर सिंह,  सुबेदार बी. बी. छेत्री, बिन्दिया राई, बिनोद प्रधान, खग गुरागाईं,  बी.के.गिरी आदि  संस्थानका पदाधिकारीहरू उपस्थित भई सकारात्मक सुझावहरू दिएका थिए। नरबहादुर दाहालकै कारणले साहित्यको क्षेत्रमा  सुकनाको नाम सदैव  सुनाम रहेकोले उनको नामलाई सदैव अमर राख्नलाई  नरबहादुर दाहाल स्मृति पुरस्कार कुनै एक युवा सर्जकका श्रेष्ठ कृतिलाई प्रत्येक वर्ष प्रदान गर्नलाई उनका परिवारलगायत सुकनाका भाषा, साहित्य, संस्कृति प्रेमीहरूले तन, मन, धनले सहयोग गर्नुपर्ने विचारहरू सबैले राखेका थिए।

About Author

Advertisement