पूर्व मुख्यमन्त्रीहरू, पूर्व विधायकहरू र सांसदहरूको योगदानकै कारण सिक्किम आज यहाँसम्म आइपुगेको छ: मुख्यमन्त्री प्रेमसिंह तामाङ

गान्तोक: आज सिक्किम पूर्व विधायक महासंघको २०औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै, सिक्किमको विकासमा पूर्व मुख्यमन्त्रीहरूका साथै पूर्व विधायकहरूको पनि समान योगदान रहेको भनि मुख्यमन्त्री प्रेमसिंह तामाङले जनाएका छन्।

राजधानी गान्तोकको मनन केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले सिक्किमको विकासमा मुख्यमन्त्री स्व. एलडी काजीदेखि लिएर स्व. नर बहादुर भण्डारी, स्व. सञ्चमान लिम्बू, स्व. बीबी गुरूङ र पवन कुमार चामलिङलगायत पूर्व विधायक र सांसदहरूको समान योगदान रहेको बताए। उनले पूर्व मुख्यमन्त्रीहरू, पूर्व विधायकहरू र सांसदहरूको योगदानकै कारण सिक्किम आज यहाँसम्म आइपुगेको छ भनी बताए। उनले २०१९ देखि सिक्किमलाई अगाड़ी बढ़ाएर लैजाने जिम्मेवारी आफुहरूमाथि रहेको बताए।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले विधायकहरू र राजनीतिज्ञहरूले प्रजातन्त्रलाई स्वीकार गर्न सक्नुपर्छ भने। उनले जुन दिन हामी निर्वाचित भएर मुख्यमन्त्री, मन्त्री र विधायक बन्छौ, त्यही दिन हामी पूर्व मुख्यमन्त्री, पूर्व मन्त्री र पूर्व विधायक पनि बन्छौ भन्ने सत्यलाई पनि स्वीकार गर्नुपर्छ भनी बताए। आफुले यस कुरालाई आत्मसात गरिसकेको बताउॅंदै उनले कसैको नाम नलिइ केहीले यो सत्यलाई स्वीकार गर्नै नमाने व्यंग्य पनि गरे। उनले मुख्यमन्त्रीको कुर्सी आफ्नो व्यक्तिगत पेवा नरहेको आसय व्यक्त गर्दै यो कुर्सीमा सिक्किमका भावी पीढ़ी कोही पनि आउन सक्ने बताए।

प्रजातन्त्रले पूर्व विधायकहरूलाई फेरि विधायक बन्ने सुविधा भने दिएको उनले बताए। जनताले चाह्यो भने पूर्व विधायक फेरि विधायक निर्वाचित बन्न सक्ने मुख्यमन्त्रीले बताए।

अर्कोतिर, मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा पूर्व विधायहरूको हितमा केही घोषणाहरू पनि गरे। उनले पूर्व विधायकहरूको पेन्सन बढ़ाउने, चिकित्सा बीमा, भ्रमणका लागि आर्थिक सहायता, सिक्किम हाउसमा बस्न छुट सम्बन्धित घोषणाहरू गरे। उनले आगामी १५ अगस्तभन्दा पहिला पूर्व विधायक र उनीहरूका परिवारहरूका लागि दिवा भोजनको आयोजन गर्ने र त्यस दिन सबैलाई भेटेर उनीहरूका समस्याहरू, गुनासोहरू र कामहरू बुझ्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement