२६ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा मंगलवार दोस्रो राउण्डका दुईवटा म्याच थियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा एनएक्सबीएफसी नक्सलबारीले दुधे फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अटलले १५औं मिनटमा गरे। यसरी नै दोस्रो म्याचमा पत्थरघट्टा एफसीले भाका बोइजलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राहुलले ह्याट्रिक गरे। यसबाहेक दोर्जेले १ गोल गरे। भाका बोइजबाट भाइचुङले एक गोल गरे। म्याचमा दुवै टीमका १-१ जना खेलाड़ीलाई रातो कार्ड देखाइयो। अब बुधवार खेलिने म्याचमा सिमाना एफसी र मेथीबारी एफसीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा 32 वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।