भारत जोडो न्याय यात्रा १४ जनवरीदेखि शुरु हुने

00-1-Rajya-Samachar

गान्तोक: भारतीय राष्ट्रिय कांग्रेसले ‘न्यायको अधिकार प्राप्त नभएसम्म’ नाराका साथ १४ जनवरीदेखि भारत जोडो न्याय यात्रा सुरु गर्ने भएको छ। यात्राको नेतृत्व पार्टी नेता राहुल गान्धीले गर्नेछन्।

पहिलो भारत जोडो यात्राको सफलतापछि कांग्रेसको यो दोस्रो यात्रा हो जसमा नागरिकलाई राजनीतिक, सामाजिक र आर्थिक न्यायका बारे सचेत गराइनेछ।

भारत जोडो न्याय यात्राको प्रचार गर्न गान्तोक पुगेकी कांग्रेस प्रवक्ता मिता चक्रवर्तीले यो यात्रा अन्यायविरुद्ध न्यायका लागि भएको बताइन्। उनले देशका शहरी तथा ग्रामीण क्षेत्रमा बढ्दो बेरोजगारी र आर्थिक वर्ष २०२२-२३ सम्म करिब ११ हजार मझौला उद्योग बन्द हुँदा देशको अर्थतन्त्रमा परेको असरलाई प्रकाश पारेकी थिइन्।

सिक्किम प्रदेश कांग्रेस कमिटी कार्यालय गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता चक्रवर्तीले कांग्रेसले भारत जोडो न्याय यात्रामा समावेश गरिएका तीनवटा विषयमा प्रकाश पारिन्। मणिपुरको इम्फालबाट शुरु भएर उत्तरपूर्वी राज्य नागाल्याण्ड, असम, अरुणाचल हुँदै देशका ११० जिल्ला र १५ राज्यमा यो यात्रा पुग्नेछ।

मुम्बईमा समापन हुने भारत जोडो न्याय यात्रामा लगभग ६७०० किलोमिटर तय गरिने जसले ३३७ विधानसभा सीट र १०० लोकसभा सीटहरू समेट्ने उनले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement