२६ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा दार्जीलिङ पुलिस सजिलै सेमिफाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत मंगलवार भएको दोस्रो क्वार्टर म्याचमा दार्जीलिङ पुलिसले ब्रदर्स इलेभेन (कालचिनी)-लाई ७-१-ले पिट्यो। विजेता टीमबाट सिद्धान्त छेत्रीले ह्याट्रिक सहित जम्मा ४ गोल गरे। यसबाहेक निशांकर राई, अभिषेक दर्जी र प्रशान्तले १-१ गोल गरे। यसरी नै ब्रदर्स इलेभेनबाट अनिरुद्ध कुवरले १ गोल गरे। विजेता टीमका सिद्धान्त छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २८ जुलाईमा खेलिने चौथो क्वार्टर फाइनलमा ब्राइट स्पोर्टिंग क्लब र लंकापाड़ा मिलन क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २ र ४ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।