एसडीएफ पार्टीका नेता जीएम गुरूङले पनि एसडीएफ त्याग्ने

गान्तोक: सिक्किमका पूर्व मन्त्री तथा एसडीएफ पार्टीका एक हेभीवेट नेता जीएम गुरूङले पनि एसडीएफ त्याग्ने भएका छन्। जीएम गुरूङले एसडीएफबाट राजीनामा दिइसकेको हल्ला सामाजिक सञ्जालहरूमा फैलिसकेको छ। यद्यपि, तिनले राजीनामा दिइहालेका छैनन्, तर राजीनामा दिने मन भने बनाइसकेका छन्। पूर्व मन्त्री गुरूङले आज राजधानीमा सिक्किम पूर्व विधायक महासंघको कार्यालय एवं अतिथि गृह उद्घाटनको अवसरमा यस आसयको जानकारी दिए। पत्रकारहरूले उनको राजीनामाको विषयमा प्रश्न गर्दा उनले यो बजारको हल्ला रहेको र अहिले राजीनामा भने नदिएको बताए। अर्कोतिर, उनले एसडीएफ पार्टीबाट राजीनामा दिने निर्णय भने लिइसकेको स्पष्ट पारे।
उनले आफु यस पार्टीमा तीन दशकसम्म सम्बद्ध रहेको र त्यसै राजीनामा दिएर जानु नमिल्ने बताए। उनले भने, ‘जुत्ता खोलेकै हो, तर जग्गा तरेको छैन।’ कहिले जग्गा तर्ने भन्ने स्पष्ट नरहे तापनि जग्गा भने अवश्य तर्ने उनले बताए। उनले अहिले कुन पार्टी जोइन गर्ने भन्ने विषयमा निर्णय नलिएको बताए पनि सत्तारूढ एसकेएम पार्टी नै उनको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement