गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जुम सालघारी निर्वाचन क्षेत्र अन्तर्गत सबैभन्दा पछौटे माबोङ-सिगेङका जनतासँग भेट गर्दै उनीहरूको समस्या साथै गुनासो सुन्ने काम गरे।
जनभेट कार्यक्रममा मुख्यमन्त्रीले जुम-सालघारी समष्टिको पछाडिएको माबोङ-सिगेङ ग्राम पञ्चायत एकाईलाई मोडल ग्राम पञ्चायत बनाउने उदेश्य लिएर सरकारले काम गरिरहेको बताएका छन्।
उल्लेख्य, मुख्यमन्त्री पीएस तामाङले माबोङ-सिगेङ ग्राम पञ्चायत एकाईलाई काख लिएका छन्। मुख्यमन्त्रीले सोरेङ जिल्लाको जूम-सालघारी निर्वाचन क्षेत्रमा दुई दिवसीय जनभेट कार्यक्रम आजदेखि आरम्भ गरेको हो। उक्त जनभेट कार्यक्रम दुवै दिन पिपले आईआरबी ग्राउन्डमा सम्पन्न भइरहेको छ। पहिलो दिनको जनभेट कार्यक्रममा मुख्यमन्त्रीले माबोङ सिगेङ, जुम, गेलिङ-वैगुणे र सामसिङ-पिपलेका आमजनतालाई प्रत्यक्ष भेटघाट गरे। भोलि मुख्यमन्त्रीले जोरथाङ बजार र नयाँ बजार क्षेत्रका जनतालाई भेट्ने कार्यक्रम रहेको छ।
अर्कोतिर, यस वर्षको आउँदो माघे मेलामा चीफ मिनिस्टर गोल्डकप फुटबल टुर्नामेन्ट शुरुवात गरिने पनि मुख्यमन्त्रीले जानकारी दिएका छन्। मुख्यमन्त्रीले आज जनताले राखेका माग, दुखेसो र समस्याहरुलाई ध्यानपूर्वक सुनेर उनीहरूले राखेका आवश्यक मागहरु र समस्यालाई मुख्यमन्त्री कार्यलयले जाँच गरेर जरुरत आवेदकहरुको काम सरकारले तत्काल गरिदिने बताए। मुख्यमन्त्रीले वृद्ध आमा-बुबा र बिरामीहरुलाई आर्थिक सहायता र अन्य सहयोगहरु पनि गरे।
यहाँ सम्पन्न जनता भेटघाट कार्यक्रममा मुख्यमन्त्रीको साथमा क्षेत्र विधायक सुनिता गजमेर, मन्त्रीगण, विधायकगण, विभिन्न बोर्ड र संस्थानका सल्लाहकार अनि अध्यक्षगण, मुख्यमन्त्रीका राजनीतिक सचिव लगायत अन्यहरूको पनि उपस्थिति थियो। मुख्यमन्त्रीको आजदेखि शुरु भएको जनभेट कार्यक्रममा सत्तारूढ एसकेएम पार्टीका भातृ संगठन गरीब जनकल्याण प्रकोष्ठले सयौं बिरामीहरुको स्वास्थ जाँच गरि बिमार अनुसारको सहायता प्रदान पनि गरे।
यसै क्रममा मुख्यमन्त्रीले विद्यार्थीहरुलाई ल्यापटप र बिमारीहरुलाई मुख्यमन्त्री कोषबाट अनुदान राशि पनि वितरण गरे। विषेश गरि नोकरीको निम्ति आवेदन गर्ने युवा जमातको बाक्लो उपस्थिति थियो। पहिलो दिन जनभेटको निम्ति चारवटा ब्लकका २१ वार्डका लगभग १६ सय कुपन वितरण गरिएको क्षेत्र स्तरीय समितिले बताएका छन्।