गान्तोक: राज्यको चित्रकारितालाई अझ विकसिक गरेर लैजाने उद्देश्यले राज्य सरकारद्वारा विजयमणि थुलुङ आर्ट ग्यालेरी एवं एकाडेमी निर्माण गर्ने राज्य सरकारको घोषणासँगै अधिसूचना जारी भएपछि राज्यका सम्पूर्ण चित्रकारहरूको तर्फबाट ओभिया आर्ट सर्कलद्वारा राज्य सरकारप्रति आभार व्यक्त गरिएको छ।
संस्थाको पक्षबाट अध्यक्ष दीपा राईले एक विज्ञप्ति जारी गर्दै राज्य सरकारको यस पहलले सिक्किमका सम्पूर्ण चित्रकारहरूको धेरै अघिदेखिको सपना पूरा हुने निश्चित भएको बताएकी छिन्। राज्यमा आर्ट ग्यालेरी तथा एकाडेमी हुनपर्छ भन्ने राज्यका चित्रकारहरूको धेरै अघिदेखिको माग रहेको उनले बताएकी छिन्।
जानकारी गराइन्छ, गत २६ दिसम्बरको दिन अखिल किराँत राई संघ, सिक्किमको आयोजनमा नाम्चीमा सम्पन्न राज्य स्तरीय साकेवा पर्वको अवसरमा मुख्यमन्त्री तामाङले राज्यका वरिष्ठ चित्रकार विजयमणि थुलुङको नाममा विजयमणि थुलुङ आर्ट ग्यालेरी एवं एकाडेमी निर्माण गर्ने घोषणा गरेका थिए। यसको १४ दिन नबित्दै हिजो राज्यको गृह विभागले यसबारेमा एक अधिसूचना पनि जारी गरिसकेको छ।
राज्य अनि देशको संस्कृति, रीति-रिवाज झल्काउन सकिने चित्रकला सशक्ति माध्यम रहेको उल्लेख गर्दै अध्यक्ष राईले यसले राज्यको संस्कृति, परम्परालाई प्रस्तुत गर्ने एक मञ्च तयार हुने बताएकी छिन्। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङसँगै यस्तो उल्लेख्य कार्यको निम्ति सो कार्यक्रममा प्रस्ताव पेश गर्ने मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङप्रति पनि कृतज्ञता व्यक्त गरेकी छिन्।