सिलगढी: आज १ नम्बर मतिगढा ब्लकको शिवमन्दिर आठारोखाई नरसिंह स्कुल नजिक रहेको एउटा मैदानमा सिलगढी महकुमा परिषद्का नव निर्वाचित सभाधिपति र सहकारी सभाधिपति लगायत सबै सदस्यहरूलाई सम्मान जनाइयो। सिलगढी महकुमा परिषद तथा जिल्लाप्रशासनको तर्फबाट सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरेपछि नव निर्वाचित सदस्यहरूलाई खदा लगाइदिएर संम्मान जनाइयो। यस अवसरमा उत्तरबंग विकास विभागका राज्यमन्त्री सबिना यास्मिन, मन्त्री बुलुचिक बडाईक, दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, पुलिस कमिश्नर गौरव शर्मा, सिलगढी नगरनिगमका मेयर गौतम देव, तृणमूल कङ्ग्रेसका जिल्ला सभानेत्री पापिया घोष लगायत अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए। कार्यक्रममा तृणमूल कङ्ग्रेसका जिल्ला सभानेत्री पापिया घोषले भनिन्, आज महकुमा परिषद्का नवनिर्वाचित सदस्यहरूलाई सम्मान जनाइयो। साधारण मानिसहरूको साथमा रहनु साथै मुख्यमन्त्री ममता ब्यानर्जीको विविध परियोजनाहरू मानिसहरूसमक्ष पुयाउनु आफूहरूको कार्य रहेको बताइन्।









