बाग्राकोट: नेपाली साहित्यमा आख्यानकार, अनुवादक, प्रगतिवादी साहित्यका मर्मज्ञ, जीवनी एवं संस्मरण लेखकका रूपमा प्रसिद्ध बद्रीनारायण प्रधानको ९६औँ जयन्तीलाई लिएऱ डुवर्समा तेज गतिमा तयारी शुरु भएको छ। आउँदो १४ जनवरीको दिन बाग्राकोटमा आयोजन हुने बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहलाई लिएर बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले आज तयारी बैठक आयोजन गरेर कार्यक्रमलाई अन्तिम रूप दिएको छ। प्रतिष्ठानका अध्यक्ष मदन खड्काको अध्यक्षतामा बसेको बैठकमा मूलसचिव रूपेश शर्माले कार्यक्रमको सम्पूर्ण तयारीबारे विस्तृत रूपमा जानकारी गराए भने पदाधिकारी र सदस्यहरूबिच कार्य विभाजन गरी विभिन्न जिम्मेवारी सुम्पिएको छ।
१४ जनवरी, १९२७ मा जन्मिएका बद्रीनारायण प्रधानले नेपाली साहित्यलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान दिएका छन्। ८ मई, २०१० मा उनको निधन भएपछि बाग्राकोटका सचेत युवाहरूले दुई महिनापछि नै बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान गठन गरेर उनका कार्यहरूलाई जीवन्त राख्ने अभियानलाई मूर्त रूप दिँदै आएका छन्। सन् २०१२ देखि बद्रीनारायण प्रधानको जन्म जयन्तीको छेक पारेर भारतीय नेपाली साहित्यका विशिष्ट साधकलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिँदै आएको छ। यसपटक वरिष्ठ साहित्यसाधक, अनुवादक, पत्रकार, सम्पादक सुवास दीपकलाई १३औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत गरिने अघिबाटै घोषणा भइसकेको छ। आइतबारको कार्यक्रमलाई सुपरिचित लेखक डा. हर्कबहादुर छेत्रीले अध्यक्षता गर्नेछन् भने वरिष्ठ समालोचक डा. (प्रा.) कविता लामा कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित रहनेछिन्। कार्यक्रममा सिक्किम, दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढ़ी, मिरिक, डुवर्स आदि ठाउँका लेखक, साहित्यकार, बुद्धिजीवी, समाजसेवी तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहने आयोजक समितिले जनाएको छ। कार्यक्रममा पुस्तक पसलहरू पनि रहने प्रतिष्ठानका मूलसचिवले जानकारी दिए। आइतबार मूल कार्यक्रम आयोजन हुनअघि प्रतिष्ठानका पदाधिकारीहरूले बाग्राकोट उच्चतर माध्यमिक विद्यालय परिसरमा अवस्थित बद्रीनारायण प्रधानको प्रतिमामा माल्यार्पण तथा पुष्पार्पण गरी उनलाई श्रद्धा अर्पण गर्नेछन्। पश्चिम डुवर्सको बाग्राकोट टपलाइनस्थित भीमसेन भवनमा आइतवार पुरस्कार अलङ्करण समारोह आयोजन हुनेछ। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानद्वारा प्रत्येक वर्ष आयोजन गरिने यो साहित्यिक समारोह डुवर्समा ‘बद्री महोत्सव’ जस्तै बन्दै आएको छ।