दार्जीलिङ: मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम संसद सत्रमा पनि गोर्खा जातिको छोडिएको ११जात गोष्ठीको जन-जातिको मान्यता अनि पीपीएसबारे जन गुनासोप्रति सतर्कता र गम्भीरता लिँदै पार्टीको राज्य समिति र केन्द्रीय समितिलाई चाप लगाउने उद्देश्यमा दार्जिलिङ जिल्ला समितिका शीर्ष प्रतिनिधि दलले जिल्ला सभापति कल्याण देवानको नेतृत्वमा राज्य सभापति तथा सांसद डा. सुकान्त मजुमदार, महासचिव अमिताभ चक्रवर्ती (सांगठनिक) अनि विधान सभामा विपक्षी नेता शुभेन्दु अधिकारीलाई भेट गरी गम्भीरतापूर्वक चाप दिँदै चर्चा गरेको जानकारी प्राप्त भएको छ। छलफल फाइदाजनक रहेको र राज्य नेतृत्वले पनि दार्जिलिङ पहाडको जिज्ञासामा जिल्ला नेतृत्वलाई सहयोग र साथ दिने र २०२४ को चुनाव अघि केही न केही घोषणा हुनुपर्ने आवश्यकता रहेको जनाएका छन्। मुद्दा छिनो -फानोको मूल ठाउँ केन्द्रीय नेतृत्व र सरकार हुनाले राज्यको अगुवाईमा जिल्ला नेतृत्वको एक टिम निकट भविष्यमा नै दिल्ली जाने र पार्टीको राष्ट्रिय सभापति जेपी नड्डा लगायत गृहमन्त्री अमित शाहसित भेट्ने विषयमा चर्चा भएको छ। दार्जिलिङ पहाड अनि गोर्खा जातिको मुद्दाहरुबारे केन्द्रीय सरकार गम्भीर र सकरात्मक रहेको राज्य नेतृत्व तथा विधान सभामा विपक्षी नेता शुभेन्दु अधिकारीले जनाएका छन्। उनले भनेका छन् – ‘केन्द्रीय सरकारले पहल शुरु गरिसकेको छ। जम्मै विषयमा अहिले नै खुलासा गर्न मिल्दैन। भाजपा सरकारले नै गर्नेछ। भाजपाबाहेक अर्को विकल्प पनि छैन। काँग्रेस पार्टी इमानदार नहुँदा नै गोर्खा जाति र पहाडको मुद्दाले उचित समाधान नपाएको हो। यो समस्या अस्सीको दशकमा नै समाधान हुनु पर्ने थियोे। तर संवैधानिक क्षमता बिनाको व्यवस्थामा नै पहाडलाई खुम्च्याउने षड्यन्त्र भयो। अहिले यो रोगले नै गोर्खा जातिलाई घरि घरि सताउने गर्छ। हामी गोर्खा जातिको लागि ठोस् समाधान चाहन्छौं। गोर्खा जातिलाई न्याय भाजपाले नै दिनेछ।’
कोलकाताको बोलावटमा अपर्झट गएका प्रतिनिधि टोलीमा जिल्ला उपाध्यक्षगण एलएम लामा, बिनोद मोक्तान साथै जिल्ला महासचिव सुजेन्द्र राई सामेल रहेका थिए।