विदेशले पनि चिन्ने सिटोङ बनाउनुपर्छ: अनित थापा
खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्चर समष्टीको बागौडादेखि कालीझोडासम्म पुग्ने १९ किलोमिटर लामो बाटोको शिलान्यास जीटीए चिफ् अनित थापाले गरेका छन्। बाटो २१ करोड ३६ लाखको लागतमा पीडब्ल्युडीको देखरेखमा बनाइने छ। उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, “सिटोङका मानिसहरू पौरखी छ्न्। सिटोङलाई बंगालले चिन्छ। देशले चिन्छ। अब विदेशले पनि चिन्ने सिटोङ बनाउनुपर्छ। यहाँ होमस्टेहरू धेरै छन्। विदेशी पर्यटकहरूलाई आकर्षित गर्न अब ठूला ठूला होटल निर्माण गर्नुपर्छ।”

उनले थप भने, “सिटोङ समष्टिमा विगत एक वर्षभित्रमा १०० करोडको काम भएको छ। बाटो राम्रो नभएको कारण यहाँ दुर्घटना घटी रहन्थ्यो। आज पर्यटनको सिजनमा यहाँ गाडी जाम हुन्छ।”
जनतालाई राम्रो बाटो चाहिएको छ। बाटो राम्रो बनिएको हुनुपर्नेछ भन्दै उनले भने, “पीडब्ल्युडीलाई बाटो जिम्मा लगाउनुको मुख्य कारण विभागको गुणात्मक काम अनि कामको निरन्तरताको कारण हो।”
सिटोङका खेलाडीहरू भ्यालीदेखि बाहिर नगएको गुनासो गर्दै थापाले सल्लाह दिँदै भने, “हाम्रो नानीहरूलाई खेलकूदमा प्रोत्साहन गर्नु अण्डर १३ फुटबल खेल आयोजना गर्नुहोस्। हाम्रा नानीहरू खेलकुददेखि टाढिएको कारण नै आजकल खेलकूद कोटामा हाम्रा नानीहरूले नौकरीसम्म पाउनु छाडेका छन्। त्यहीमाथि आजकल हरेक परिवारमा माइला, कान्छा सबै हराईसके।”

पञ्चायतका सदस्यहरुलाई इंगित गर्दै उनले भने, “पञ्चायतका सदस्यहरू गाउँको मुखिया हुन्। पञ्चायतमा धेरै योजनाहरू आउँछन्। सदुपयोग गर्नुहोस्। जनतालाई योजनाहरू विषय जानकारी दिनुहोस्। अब पञ्चायतमा पैसा पनि आएको छ। पैसा गाउँलेसँग मिलेर योजना बनाई प्रयोग गर्नुहोस।पञ्चायतका सदस्यहरू हाम्रा स्थानीय नेताहरु हुन्। भविष्यका नेतृत्वको विकास गर्ने ठाउँ पञ्चायत हो। व्यवस्थामा को ठूलो को सानो हुनु हुँदैन। अधिकारी अनि नेताहरुले एक आपसमा समन्वयन बनाएर काम गर्नुपर्छ।”