झापा: पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौं संस्करणको तयारी पूरा भएको छ। राजवंशी समाज विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो। झापाको बिर्तामोडमा बर्सेनि पुस २९ गते (१४ जनवरी) राष्ट्रिय भाक्का दिवस मनाइँदै आएको छ। यस पटक डोमालाल राजवंशी रंगशालामा कार्यक्रम गरिने भएको छ। राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सहभागिता रहने छ।राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भाक्काको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाइँदै आएको राजवंशीले बताए।
भाक्का दिवस शुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए। यस वर्षको भाक्का दिवसमा १५० जना महिलाले दुई हजार किलोग्राम चामलको पिठोबाट भाक्का बनाउने छन्। कार्यक्रममा प्रस्तुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने भएकी छिन्। पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इण्डिया किड्सको उपविजेता र २०१८ को इण्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन्। त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष साह पनि कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा पाँच सयजना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ।