सत्तारूढ़ एसकेएम पार्टीले शुरू गऱ्यो चुनाव प्रचार

IMG-20240109-WA0001.jpg

तुमिन: यसै वर्ष सम्पन्न हुने राज्य विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राखेर सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आजदेखि राज्यव्यापी चुनाउ प्रचार आरम्भ गरेको छ। यसै क्रममा आज राज्यको दुईवटा समष्टिमा पार्टीको समष्टिस्तरीय जनसभा सम्पन्न गरियो जुन कार्यक्रम आगामी दिनमा राज्यका सबै समष्टिमा हुनेछ। आज गेजिङ जिल्लाको मानेबुङ देन्ताम र नाम्ची जिल्लाको तुमिन लिङ्गी समष्टिमा जनसभा सम्पन्न भएको थियो। तुमिन लिङ्गीको बराङमा आयोजित जनसभामा सिक्किम सरकारका मन्त्री तथा तिमी नामफिङ्गका विधायक बीएस पन्त मुख्य अतिथि रहेका थिए भने पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथि रहेका थिए।

आफ्नो सम्बोधनको क्रममा मन्त्रीले पूर्व सरकारले पूरा नगरेको राम धाम निर्माणको घोषणालाई एसकेएम सरकारले पूरा गर्ने बताए। यसको साथै उनले पार्टी कार्यकर्तालाई सामाजिक सञ्जालमा अलिक सक्रिय बन्ने आह्वान पनि गरेका छन्। समाजिक सञ्जालमा नराम्रो कुरा गर्ने र दुस्प्रचार गर्नेहरूलाई खण्डन गर्नुपर्ने उनको भनाइ रहेको छ। मन्त्रीले आफ्नो सम्बोधनको क्रममा आगामी १९ जनवरीको दिन सम्पन्न हुने राज्यको एकमात्र राज्यसभा सांसदको चुनाउमा केन्द्रमा सत्तासीन पार्टी (भारतीय जनता पार्टी) सित सहकार्य गर्नुपर्ने आशयको वक्तव्य दिएका छन्। अर्कोतिर केही महिना पछि हुने राज्य विधानसभाको चुनाउमा आफू पनि उठ्न चाहेको तर पार्टीले अरु कसैलाई टिकट दिएको खण्डमा उसैलाई पूर्ण समर्थन जनाउने पनि उनले थप बताए। यदि मैले टिकट नपाएर कुनै प्रकारको विरोध जनाएछु भने मेरो अनुहारमा थुकिदिनु, उनले भने।

यसरी नै जनसभालाई सम्बोधन गर्दै जेकब खालिङले यसै जनवरी महिनामा राज्य सरकारले पूरा गर्ने विभिन्न जनमुखि योजना बारे जानकारी गराए। यसको साथै उनले क्षेत्रका पार्टी कार्यकर्ताहरूमा एकता कायम राखिनुपर्ने कुरामा पनि विशेष जार दिए। जनसभालाई पार्टीका अन्य शीर्ष पदाधिकारीहरूले पनि सम्बोधन गरे। जनसभामा पार्टीका शीर्ष पदाधिकारीहरूको साथमा धेरै सङ्ख्यामा पार्टी कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement