सिक्किम र सिक्किमेली जनताका लागि राष्ट्रिय स्तरमा भाजपालाई समर्थन गरेका हौः जेकब खालिङ

IMG-20240109-WA0001.jpg

गान्तोक: राज्यसभा चुनाउका लागि सिक्किमबाट भाजपाको उम्मेद्वारीतालाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले गरेको समर्थनलाई सिक्किम र सिक्किमेली जनताको हितका लागि रहेको एसकेएम प्रवक्ता जेकब खालिङले बताएका छन्।

आज पूर्व सिक्किमको तुमिनमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिंदै खालिङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी र भाजपा गठबन्धनमा चलेको सरकार रहेकाले सिक्किमे जनताका दीर्घलम्बित माग र सिक्किमको विकासलाई सुनिश्चित गर्न राष्ट्रिय स्तरमा एनडीएसँग सहमत अनि गठबन्धनमा नै जाने बताए।

उनले भाजपाको उम्मेद्वारीताको दाबीलाई दुवै दलमाझको सहमत बताए भने यसबारे भोलि पार्टीले आधिकारीक बयान जारी गर्ने जानकारी दिए। अर्कोतर्फ एसकेएमले भाजपा समक्ष राजनैतिक रूपमा आत्मसमर्पण गरेको भनि भइरहेका आलोचनालाई खालिङले खण्डन गरेका छन्। उनले यस विषयमा भने, केन्द्र सरकारसँग मिलेर काम गर्नुलाई आत्मसमर्पण भन्दैन, त्यो हाम्रो देशको सङ्घीय ढाँचाको एउटा भाग हो। जसले सङ्घीय ढाँचालाई बुझ्दैनन् उनीहरूले बगमफुस्से राजनीतिक वयान दिन सक्छन्, तर विगतको दिनहरूमा हामीले हेर्ने हो भने सबैले संघीय ढाँचाभित्रै रहेर काम गरेरका छन् अनि भविष्यमा पनि सबै पार्टी सबै सरकारले संघीय ढाँचामा नियम र सिद्धान्त भित्र रहेर नै काम गर्नुपर्ने हुन्छ।

राज्यसभा चुनाउका लागि भएको नयाँ समिकरणले आगामी विधानसभा र लोकसभामा कस्तो प्रभाव पार्नेछ भन्ने प्रश्नको जवाफ दिँदै खालिङले भने, यो समिकरणले सिक्किमे जनताको दीर्घलम्बित माग पूरा गर्नेछ र एसकेएम पार्टीको जीत सुनिश्चित गर्नेछ।

यसै विषयमा बोल्दै एसकेएम सरकारका मन्त्री बीएस पन्तले पनि पार्टीको पक्षबाट नभएपनि आफ्नो व्यक्तिगत पक्षबाट भाजपाको उम्मेद्वारिताको समर्थन गरेको बताए। सिक्किम सानो राज्य भएको र यहाँका राज्यसभा र लोकसभा सांसदको सुनवाइ दह्रिलो स्तरमा नहुने भएकाले राष्ट्रिय पार्टीको समर्थन केन्द्रमा सिक्किमका लागि फइदाजन हुने बताए। तथापि यस विषयमा पार्टीले आफ्नो आधिकारीक अडान स्पष्ट गराउने मन्त्री पन्तले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement