वरिष्ठ कांग्रेस नेता लायक राम गुप्ताको निधन

IMG-20240108-WA0254.jpg

कांग्रेस नेतृत्वहरूद्वारा समवेदना प्रकट

खरसाङ: वरिष्ठ कांग्रेस नेता लायक राम गुप्ताको निधन भएको छ। खरसाङ निवासी पहाडका वरिष्ठ कांग्रेस नेता लायकराम गुप्ताको खरसाङस्थित उनको निजी वासस्थानमा ८४ वर्षको उमेरमा निधन भयो। उनको निधनको खबरले समस्त कांग्रेस प्रेमी अनि शुभ चिन्तकहरुमा शोकको लहर छाएको छ। विभिन्न व्यक्तित्वहरू र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यापारिक प्रतिष्ठानका सदस्यहरु साथै राजनैतिक र गैर-राजनैतिक संगठनका प्रतिनिधिहरुले वरिष्ठ कांग्रेस नेता लायकराम गुप्ताको निधनमा शोक व्यक्त गर्दै खरसाङ हिल कार्ट रोडस्थित उनको वासस्थानमा पुगि श्रद्धाञ्जलि अर्पण गरेका छन्। गोर्खा जन पुस्तकालय खरसाङले पनि वरिष्ठ कांग्रेस नेताको निधनमा शोक व्यक्त गरेको छ। दार्जीलिङ जिल्ला हिल तृणमूल कांग्रेसका अध्यक्ष साथै पूर्व राज्यसभा सांसद शान्ता छेत्री, दार्जीलिङ जिल्ला कांग्रेस पार्टीका अध्यक्ष साथै पूर्व विधायक शंकर मालाकार, दार्जीलिङ जिल्ला कांग्रेस पार्टीका कार्यकारिणी अध्यक्ष सरोज खत्री साथै अन्य विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले पनि स्वर्गीय गुप्ताको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। यस अवधि गुप्ताको निधनमा, पत्रकारहरुसित बोल्दै शंकर मालाकारले भने, ‘बाल्यकालदेखि नै स्वर्गीय लायकराम गुप्तालाई एकजना कर्मठ कंग्रेसी नेताको रूपमा देखेको थिएँ। उनको मन- मस्तिष्कमा कांग्रेस पार्टी छोडेर कहिले पनि अन्य पार्टी आएनl’ मालाकारले भने, ‘जीएनएलएफको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनपछि बिमल गुरुङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चाको आन्दोलन आदि विभिन्न राजनैतिक परिस्थितिहरु वा राजनैतिक दलहरु दार्जीलिङ पहाडमा आए-गए तर गुप्ताले कांग्रेस छोडेनन् अनि कांग्रेससँग अटूट भएर बसिरहेl’ उनको निधनले कांग्रेसको पहाड़को राजनीतिमा एउटा शून्यता सृष्टि भएको भनी मालकारले बताए। उनले भने, ‘स्वर्गीय लायकराम गुप्ता एकजना वरिष्ठ साथै कांग्रेस पार्टीको निम्ति मरिमेट्ने थिए। उनको निधनले समस्त कांग्रेस पार्टी नै दुःखी रहेको उनले बताए। तिनले यस दुःखको घडीमा गुप्ताको परिवार प्रति शोक संवेदना व्यक्त गरे।
अर्कोतर्फ, कांग्रेसका कार्यकारिणी अध्यक्ष सरोज खत्रीले भने, लायक राम गुप्ता एउटा वरिष्ठ कांग्रेस नेता थिए। उनी कांग्रेस पार्टीमा ६० वर्ष भन्दा पनि धेर वर्ष देखि सक्रिय रूपमा कार्य गर्दै आई रहेका थिए। उनी एकजना निष्ठावान् कांग्रेस नेता थिए। उनी पण्डित जवाहरलाल नेहरू, स्वर्गीय इन्दिरा गान्धी आदि कांग्रेसका दिग्गज नेतृत्व हरुसित तिनीहरुको पहाड भ्रमण अवधि दलीय कार्य अनि मंच साझा गरेका थिए। उनको निधनले कांग्रेस पार्टीमा एउटा ठूलो क्षति भएको, अनि अपूरणीय क्षति रहेको खत्रीले बताए। उनी पहाडको एकजना राजनीतिविद पनि थिए। पहाडमा विभिन्न राजनैतिक परिवेश आए पनि लायक राम गुप्ता कहिले पनि डगमगाएनन् साथै कांग्रेस छोडेनन्। यस अवधि पार्टीको पक्षबाट कांग्रेस जिल्ला अध्यक्ष शंकर मालाकार साथै जिल्ला कार्यकारिणी अध्यक्ष सरोज खत्रीद्वारा स्वर्गीय लायक राम गुप्ताको पार्थिव शरीरमा कांग्रेस पार्टीको झण्डा ओढाई सम्मान साथै श्रद्धाञ्जलि अर्पण गरियो। लायकराम गुप्ताको निधनमा कांग्रेस नेता बिनय तामाङले पनि प्रेस विज्ञप्ति जारी गरेर शोक समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement