हाम्रो पार्टी नेपालको राजनीतिक प्रतिवेदन सार्वजनिक

Photo-3

काठमाडौं: हाम्रो पार्टी नेपालले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ। बाँकेको कोहलपुरमा आयोजित प्रारम्भिक भेलाबाट पारित प्रतिवेदन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। प्रतिवेदनसँगै पार्टीका संस्थापक एवं संयोजक गोविन्द बोहोराद्वारा लिखित किताब ‘नयाँ राजनीतिक दर्शन, नयाँ राज्यप्रणाली एक अवधारणा’ पुस्तक पनि सार्वजनिक गरिएको छ। संयोजक बोहोरा, प्राडा विष्णु दाहाल, मनोक्रान्ति अभियन्ता शिवराज घिमिरेलगायतले पुस्तक विमोचन गरे। पार्टीको राजनीतिक प्रतिवेदनमा राष्ट्राध्यक्ष प्रणाली, विशेष अधिकारसहितको संवैधानिक राष्टाध्यक्ष, प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले सर्वोत्तम व्यक्तिलाई राष्ट्राध्यक्ष छान्नुपर्ने परिकल्पना गरिएको छ।

राजनीतिक प्रतिवेदन सार्वजनिक र पुस्तक विमोचनपछि सभालाई सम्बोधन गर्दै संयोजक बोहोराले अब नेतृत्वमा रहेका शीर्ष नेताहरुले विश्राम लिनुपर्ने बताए। पञ्चायती निरंकुश व्यवस्थाको विरुद्धमा लडेर देशलाई अहिलेको अवस्थामा पुर्याएकोमा उनले शीर्ष नेताहरुलाई धन्यवाद दिए। राजनीतिक प्रतिवेदनका आधारमा अब आफूहरु जनतामाझ जाने पनि उनले बताए। ‘प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओलीलगायत जो–जो नेतृत्वमा हुनुहुन्छ, तपाईँहरु अब विश्राम लिनुस्। तपाईँहरुलाई हार्दिक धन्यवाद यस अर्थमा दिन्छौं, २०६२-६३ को आन्दोलनपछि बुर्जुवा संविधान भएपनि, यो संविधानको राम्रो उपलब्धी भनेको जनताले शान्तिपूर्ण तरिकाले सम्पूर्ण परिवर्तन गर्नसक्ने स्थितिको निर्माण हो,’ उनले भने, ‘जनताको हातमा सार्वभौम अधिकार आएको हो। तपाईँहरुले जति संघर्ष गर्नुभयो, त्यसको हामी सम्मान गर्छौं।’ हाम्रो पार्टी नेपालका केन्द्रीय सदस्य चक्र बूढा, मनोक्रान्ति अभियन्ता शिवराज घिमिरे, प्राडा विष्णु दाहाल, हाम्रो पार्टी नेपालका संस्थापक सदस्य सरगम गिरीलगायतले राजनीतिक प्रतिवेदन र विमोचित पुस्तकका बारेमा धारणा राखेका थिए।

About Author

Advertisement