गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले उनकी माता आशरानी चामलिङको गत २६ दिसम्बर, २०२३ मा स्वर्गारोहण भएपछि यस दुःखको घडीमा उनको परिवारलाई साथ दिने, सान्तवना एवम् समवेदना प्रकट गर्ने अनि स्वर्गीय मातालाई श्रद्धाञ्जलि अर्पण गर्ने सम्पूर्ण सहृदयीजन, शुभचिन्तक, हितैषी, इष्टमित्र एवम् बन्धुबान्धवप्रति आन्तरिक हृदयबाट कृतज्ञता ज्ञापन गरेका छन्।
एसडीएफ पार्टी अध्यक्षले आफ्नो शोक सन्देशमा विशेषतः यस दुःखको समयमा सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्य, मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम उच्च न्यायायलका न्यायाधिश न्यायमूर्ति मिनाक्षी मदन राई, न्यायाधिश न्यायमूर्ति भाष्करराज प्रधान, श्रद्धेय राजकुमार पाल्देन वाङ्चुक नामग्येल एवम् राजपरिवारका सदस्यगण, जिल्ला एवम् सत्र न्यायालयका न्यायाधीशगणले व्यक्तिगत रूपमा उपस्थिति जनाएर समवेदना प्रकट गरेको उल्लेख गर्दै उनका परिवार सदैव कृतज्ञ रहनेछौं भनी बताएका छन्।
यसैगरी, उनले सिक्किम विधानसभाका वर्तमान एवम् पूर्व अध्यक्षगण, सिक्किम विधानसभाका पूर्व उपाध्यक्षगण, सिक्किम सरकारका वर्तमान एवम् पूर्व मन्त्रीगण, राज्यका वर्तमान एवम् पूर्व विधायकगण, सिक्किमका वर्तमान एवम् पूर्व राज्यसभा सांसदगण, पूर्व लोकसभा सांसदगणले स्वयम् उपस्थित भएर समवेदना प्रकट गरेकोमा आभारी प्रकट गरेका छन्।
यस अतिरिक्त एसडीएफ अध्यक्षले आफ्नो शोक सन्देशमा सिक्किमका वर्तमान एवम् सेवानिवृत्त अधिकारी र कर्मचरीहरू, वर्तमान एवम् पूर्व पञ्चायतगण, विभिन्न संघ संस्थाका प्रतिनिधिगण, पश्चिम बङ्गाल राज्यका दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलगढी, डुवर्स आदि विभिन्न क्षेत्रका विभिन्न राजनीतिक दलका नेतागण, पूर्व सांसदगण, वर्तमान एव् पूर्व विधायकगण अनि सामाजिक संघ-संस्थाका प्रतिनिधिगणले आफ्नो उपस्थितिसहित यस शोकको समयमा हौसला प्रदान गरेर कृतज्ञ तुल्याएको बताउॅंदै सबैप्रति आभार व्यक्त गरेका छन्।
उनले यस दुःखको घडी अहोरात्र खट्ने सबै स्वयंसेवक मित्रहरू अनि राङगाङ याङगाङ गाउँवासीहरूप्रति पनि आभार प्रकट गरेका छन्।