गान्तोक: राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठको पहलमा आयोजित भेटघाट कार्यक्रमको आज पहिलो दिन मुख्यमन्त्री प्रेम सिंह तामाङले दक्षिण अनि पश्चिम जिल्लाका अवकाशप्राप्त कर्मचारीहरूसित व्यक्तिगत रुपमा भेटेर उनीहरूका समस्याहरूलाई सम्बोधन गरे। पूर्व सिक्किमको रानीपुल नजिक सरमसा गार्डनमा आयोजित यस दुई दिने भेटघाट कार्यक्रममा मुख्यमन्त्रीले भोलि पूर्व अनि उत्तर जिल्लाका अवकाशप्राप्त कर्मचारीहरूलाई भेट्नेछन्। उल्लेखनयी छ, यो भेटघाट कार्यक्रम गत महिनामा नै हुने निश्चित भएको थियो तर मुख्यमन्त्रीको व्यस्तताको कारण स्थगित गरिएको थियो।
भेटघाट कार्यक्रममा आफ्नो छोटो सम्बोधन राख्दै मुख्यमन्त्री तामाङले आफ्नो सरकारको पाँच वर्षको कार्यकालमा एकैजना कर्मचारीलाई पनि शास्ती नदिइएको दावी गरे। बरु पूर्वमा बिनाकसुर भिजिलेन्सको जाँच खेपिरहेका कर्मचारीहरूलाई न्याय दिने काम वर्तमान सरकारले गरेको उनको भनाइ रहेको छ। उनले भने, सरकारले प्रत्येक क्षणलाई कर्मचारीहरूको हितमा सदुपयोग गरेको छ। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले कर्मचारीहरूको हितमा केही पूर्वघोषित घोषणाहरू दोहोर्याउनुको साथै केही नयाँ घोषणा पनि गरे जसमा आगामी वित्तीय वर्षदेखि अवकाशप्राप्त सरकारी कर्मचारीहरूको मासिक चिकित्सा भत्ता २ देखि बड़ाएर ५ हजार रुपियाँ गरिने, गान्तोकमा अवकाशप्राप्त कर्मचारीहरूका लागि अतिथिगृह निर्माण गरिने, अवकाशप्राप्त कर्मचारीहरूलाई वार्षिक रुपमा तीर्थ यात्रामा पठाइने आदि प्रमुख रहेको छ। यसको साथै राज्य सरकारले यस अघि गरेका सबै घोषणाहरूलाई यसै जनवरी महिना भित्रमा लागु गर्ने पनि मुख्यमन्त्रीले थप बताए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा राजनीतिक प्रतिपक्षीहरूलाई कटाक्ष गर्न पनि बिराएनन्। यसैक्रममा उनले यसै वर्ष हुने राज्य विधानसभा अनि देशको लोकसभा चुनाउमा फेरि एकपल्ट सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी र पूर्व मुख्यमन्त्री पवन चामलिङलाई हराएर सिक्किमलाई बचाउनुपर्ने बताए। कार्यक्रमलाई एसकेएम अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठका उपाध्यक्ष प्रभारी तथा विधायक जीटी ढुङ्गेलले पनि सम्बोधन गरेका थिए।
यस अवसरमा एसकेएम अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठ र सिक्किम सरकारी अवकाशप्राप्त कर्मचारी सङ्घ “चौतारो”-ले मुख्यमन्त्री प्रेम सिंह तामाङलाई अभिनन्दन पनि जनायो। कार्यक्रममा विभिन्न विभागका मन्त्री अनि विधायकहरूको पनि उपस्थिति रहेको थियो।








