गान्तोक: आगामी १९ जनवरीमा हुने सिक्किमको एकमात्र राज्यसभा सीटको चुनाउमा भरतीय जनता पार्टी बलियो दाबेदारी प्रस्तुत गरेको छ।
भाजपा केन्द्रिय चुनाउ समितिले सिक्किमका लागि विधायक डीटी लेप्चालाई उम्मेदवार बनाएको छ जसमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को समर्थन रहेको भाजपा सिक्किमको दाबी छ। यता डीटी लेप्चाको उम्मेद्वारितालाई समर्थन गरेको सम्बन्धमा एसकेएम पार्टीबाट भने कुनै आधिकारी बयान आएको छैन।
आइतबार बिहान भाजपाको केन्द्रिय चुनाउ समितिले डीटी लेप्चालाई उम्मेदवार बनाएको घोषणा गरेसँगै भाजपा सिक्किमले गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर राज्यसभा चुनाउमा भाजपाको दाबेदारीलाई विनासर्त समर्थन गरेको भन्दै सत्तारुढ एसकेएम पार्टी र मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरेको छ। ३२ विधायक रहेको सिक्किम विधानसभामा भाजपा १२ जना विधायक रहेका छन् जबकी सत्तारुढ एसकेएमसँग १९ विधायक छन्। यस्तो स्थितिमा राज्यसभा चुनाउमा एसकेएमले भाजपालाई समर्थन जनाएपछि भाजपा सिक्किमका लागि एउटा राम्रो शुरुआत भएको अध्यक्ष डिआर थापाले बताएका छन्।
१९९४ देखि प्रत्यक्ष राजनीतिमा रहेका डीटी लेप्चासँग पाँचपल्ट विधायक र तीनपल्ट मन्त्री रहेर बटुलेको राजनीतिक अनुभव सिक्किम र सिक्किमेका लागि फाइदाजनक साबित हुने डीआर थापाले बताएका छन्।
सिक्किमका केही राजनीतिक मुद्दा केन्द्रमा लामो समयसम्म थाँतीमा रहेको अवस्थामा राज्यसभामा डीटी लेप्चा चुनिनु लम्बित मुद्दाहरूको समाधानमा सहयोगी साबित हुने बताए। यता राज्यसभामा एसकेएमबाट डीटी लेप्चामा आएको समर्थनलाई अध्यक्ष डीआर थापाले भाजपा सिक्किमको लागि ठूलो बताए भने यस निर्णयबाट भाजपामा नयाँ उर्जा आएको पनि थापाको भनाइ छ।
राज्यसभाका लागि उम्मेद्वारिता पाइसकेका विधायक डीटी लेप्चाले सिक्किमेको पक्षमा वहन गर्नुपर्ने सबै जिम्मेवारी लिएर आफू दिल्ली जाने बताए। उनले केन्द्रमा लम्बित रहेका सिक्किमका सबै मुद्दा राज्यसभामा उठाउने वचन दिंदै आफूप्रति विश्वस्त बनिदिन सिक्किमेली जनतालाई आग्रह गरेका छन् भने केन्द्र र राज्यसँग समन्वय राखेर काम गर्ने पनि बताएका छन्।
आफ्नो उम्मेद्वारिताका लागि केन्द्रिय नेतृत्व र सिक्किम सरकारप्रति आभार व्यक्त गर्दै मुख्यमन्त्री पीएस गोलेले साथ दिएका कारण नै राज्यसभामा भाजपाबाट आफू उम्मेदवार बन्नसकेको लेप्चाले बताएका छन्।
यता केही समयदेखि भाजपा सिक्किमको प्रभारीका रुपमा रहेका डाक्टर दीलिप जैस्वालले राज्यसभामा भाजपालाई समर्तन दिनु सिक्किमका लागि असल निर्णय रहेको ठहर गरे। यहाँबाट भाजपाले राज्यसभा सांसद पाउँदा सिक्किम र दिल्ली सम्बन्ध नजिक पुग्ने र यसले केन्द्रमा लम्बित मुद्दा समाधानमा ठूलो सहयोग हुने बताए।
पाँचपल्ट विधायक बनिसकेका डीटी लेप्चाको फाइदा सिक्किमलाई दिलाउनकै लागि पनि डिटी लेप्चालाई राज्यसभाका लागि चुनिएको हो भन्दै भाजपा राज्य प्रभारी डा. जैस्वालले उनलाई उम्मेद्वार बनाउँदा भाजपा सिक्किमले गौरव महसुस गरेको बताए।
सिक्किम विधानसभा चुनाउ नजिकै रहेकाले विधानसभामा भाजपा र एसकेएमको गठबन्धन हुन्छ वा हुँदैन भन्ने विषयमा भने राज्य भाजपाले प्रतिक्रिया दिन मानेन। पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा अध्यक्ष डीआर थापाले विधायनसभा चुनाउ आउन समय रहेकाले यसबारे समय आएपछि नै निर्णय हुने बताए। भाजपाले राज्यसभामा उम्मेद्वारिता दिने सम्बन्धमा भने मुख्यमन्त्री पीएस गोले र गृहमन्त्री अमित माझको चर्चा पछि नै सहमति बनेको थापाले बताएका छन्।








