मङ्पु: रङ्बी विभाग खेलकुद संघको आयोजना आजदेखि मङ्पुमा मिनी गोल्ड कप फुटबल टुर्नामेन्ट स्थानीय जन मैदानमा शुरु भएको छ। सिन्कोना बगान ग्याङ म्यान इन्द्रबहादुर मोहोराको अध्यक्षता सम्पन्न भएको आजको उद्घाटन खेलको प्रमुख अतिथि जीटीए दार्जिलिङ जिल्ला जनसम्पर्क अधिकारी बिज्ञान मिश्रले बल किक गरेर खेल शुरु गरेका थिए।
आज प्रथम दिनको खेल टिस्टा बोईज क्लब अनि शान्तिधुरा एफसीमाझ भीडान्त भएको थियो। यस उदघाटन खेलको पहिलो हाफको २० मिनट शान्तिधुरा एफसीको खेलाडी जर्सी नम्बर १० आर्यन मंगरले सुन्दर गोल गरेर बढ़त बनाएका थिए। यसरी नै दोस्रो हाफमा टिस्टा बोईज क्लबका खेलाडी जर्सी नम्बर ६ नाहोर लेप्चाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने खेलको निर्धारित समयसम्म दुई दलले १-१ गोल गरी बराबरी खेल अन्त्य भएको थियो। अन्त्यमा ट्राई ब्रेकरमा शान्तिधुरा एफसीले ४ को बिरुद्ध ५ गोल गर्दै दोस्रो राउण्डमा पुग्न सफल भएका छन्। रङ्बी विभागीय जनमैदानमा सम्पन्न भएको मिनी गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेल आगामी ४ फरवारी २०२४ को दिन सम्पन्न हुनेछ।

यस टुर्नामेन्टको बिजय दललाई २ लाख अनि ट्रफी साथै पराजय दललाई १ लाख अनि ट्रफी प्रदान गरिनेछ। सञ्जय राईले सञ्चालन गरेको खेलको प्रमुख निर्णायक विशाल थापा अनि सह निर्णायकमा सन्तोष विश्व अनि साईमण्ड लेप्चा रहेका थिए।








