खरसाङ: आकाशवाणीद्वारा आयोजित सर्वभाषा कवि सम्मेलन २०२४ मा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै कवि कर्ण विरहले अंश ग्रहण गरेका छन्। सर्वभाषा कवि सम्मेलन आकाशवाणीद्वारा प्रत्येक वर्ष आयोजना गर्ने एक गरिमामय कार्यक्रम हो। यो विश्वमा आयोजन हुने गरेको सर्ववृहत् कार्यक्रमहरुमध्ये एक हो। संविधानले मान्यता दिएका भारतीय भाषाहरूमा प्रत्येक भाषाबाट एक-एकवटा कविता चयन गरेर अनि ती कविताहरुका हिन्दी अनुवाद, अनुवादक कविहरुलाई पनि डाकेर कवि सम्मेलनको आयोजना हुने गर्दछ। यस वर्ष २०२४ को निम्ति आकाशवाणी खरसाङमार्फत् नेपाली भाषाको प्रतिनिधित्त्व गर्दै कवि कर्ण विरहले अंश ग्रहण गरेका छन्। कवि कर्ण विरहले आफ्नो चयन भएको ‘बाऊ’ शीर्षकको कविता आकाशवाणीद्वारा राँचीमा अायोजित सर्वभाषा कवि सम्मेलनमा वाचन गरेका छन्। कवि कर्ण विरह भारतीय नेपाली भाषाको सक्रिय युवा कवि हुन्। उनी २०१९ मा साहित्य अकादमी युवा पुरस्कारद्वारा पुरस्कृत युवा कवि हुन्। उनको जम्मा आठवटा कृतिहरू प्रकाशित छन्। उनको प्रकाशित कृतिहरूमा कविता संग्रह ‘शब्द सम्मेलन’ (२०१०), गजल संग्रह ‘भक्कानिएका भावनाहरू’ (२०११), रूबाई संग्रहहरू ‘रंगहीन तरंङ्ग'(२०१२) र ‘ईश्वरभन्दा माथि’ (२०२२), कविता संग्रहहरू ‘भाव अभाव'(२०१३), ‘चर्किएको भूइँ’ (२०१४), डियर डोरेमोन (२०१९) र ‘गान्धारीका आँखा'(२०२३) प्रकाशित छन्। यसबाहेक पनि कवि कर्ण विरहले कलेजको पत्रिका ‘रंगीत स्पेक्ट्रम’ अनि ‘विभक्ति’ पत्रिकाको केही अंक सम्पादन पनि गरेका छन्। कवि कर्ण विरह हालमा बिजनबारी डिग्री कलेजमा प्राध्यापन गरिरहेका छन्।सर्वभाषा कवि सम्मेलन २०२४ को रेकर्डिङ आगामी गणतन्त्र दिवसको पूर्व सन्ध्यामा अर्थात् २५ जनवरी २०२४ को राती १० बजे राष्ट्रिय च्यानलमा प्रसारण हुनेछ अनि आकाशवाणीका अन्य केन्द्रहरुले पनि सो सह-प्रसारण गर्नेछन् भनी आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले जानकारी गराएका छन्। उनले बताए अनुसार उक्त सर्वभाषा कवि सम्मेलनको आकाशवाणीका क्षेत्रीय केन्द्रहरूले ती कविताहरूका क्षेत्रीय भाषामा अनुवाद गरेर प्रसारण गर्ने गर्दछ। उनले अझ बताए अनुसार आकाशवाणीको खरसाङ अनि दार्जीलिङ केन्द्रहरूले पनि सर्वभाषा कवि सम्मेलन २०२४ नेपाली अनुवादको साथमा प्रसारण गर्नेछ। यो कार्यक्रम आकाशवाणी खरसाङबाट एफएम १०३.५ मेगाहर्जमा अनि आकाशवाणी दार्जीलिङबाट १००.२ मेगाहर्ज अनि न्युज अन एआईआर एप्सबाट सुन्न सकिने छ।