गान्तोक: गोवाहाटीको खानापारामा आजदेखि आरम्भ भएको क्षेत्रीय स्तरको पशुधन एवं कुखुरा महोत्सवमा सिक्किम सरकारका कृषि एवं पशुपालन मन्त्री लोकनाथ शर्माले सहभागिता जनाएका थिए। उनको साथमा विभागीय अधिकारीहरू साथै राज्यका ३० पशुपालक किसानले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस तीन दिवसीय कार्यक्रमबाट सहभागी किसानहरूले पशुपालनको क्षेत्रमा धेरैकुरा सिक्ने साथै विचारहरूको आदानप्रदान गर्ने राम्रो अवसर प्राप्त गर्ने आशा व्यक्त गरे। यसको साथै उनले किसानहरूलाई यो अवसर प्रदान गरेकोमा आसाम सरकार प्रति आभार पनि व्यक्त गरे। अर्कोतिर सिक्किममा किसान अनि पशुपालकहरूलाई राज्य सरकारले के कस्तो सुविधाहरू उपलब्ध गराएको छ भन्ने बारेमा पनि मन्त्रीले उपस्थितजनलाई जानकारी गराए। मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा किसानहरूलाई आत्मनिर्भर बनाउन धेरैवटा किसानमैत्री योजनाहरू लागु गरेको उनले बताए। सिक्किम सरकारले मुख्यमन्त्री कृषि आत्मनिर्भर योजना, पशुधन समृद्धि योजना, मत्स्य सम्पदा योजना साथै दुग्ध उत्पादन प्रोत्सहान योजना, सुङ्गुरपालन प्रोत्सहान योजना आदि मार्फत किसानहरूलाई विभिन्न सहयोग र सुविधा प्रदान गरेको मन्त्रीले थप बताए। सिक्किम सरकारले कृषि भविष्य हो, भविष्य कृषि भन्ने मन्त्र लिएर काम गरिरहेको मन्त्री शर्माको भनाइ रहेको थियो।
आसाम सरकारको पशुपालन तथा पशु चिकित्सा विभाग र आसाम पशुपालन तथा कुखुरा निगमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा असमका पशुपालन मन्त्री अतुल बोरा, सांसदहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। यस कार्यक्रम अवधि कृषकहरूलाई दोब्बर आम्दानी गर्नका लागि देशका विभिन्न भागबाट आएका विज्ञहरुले आधुनिक विधि बारे अवग गराइनेछ। महोत्सवमा गाईपालन, बाख्रापालन, बंगुरपालन र कुखुरापालनमा संलग्न हजारौं किसानको सहभागिता रहेको छ। महोत्सवमा पशुपालनका विभिन्न पक्षका करिब २ सय स्टल राखिएको छ।