गान्तोक: भारतको निर्वाचन आयोगले प्रत्येक वर्ष मतदाता नामावलीको विशेष संशोधन गर्दै आएको छ। यस वर्ष संशोधन गतिविधिहरू जून महिनादेखि नै शुरु गरिएको हो। विशेष सारांश संशोधन २०२४ र मतदाता नामावली अध्यावधिकको क्रममा प्राप्त भएका निवेदनहरुको निरुपण गरिसकेपछि अन्तिम मतदाता नामावली आज मुख्य निर्वाचन अधिकारी डी आनन्दनद्वारा सिक्किमका राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा जारी गरिएको थियो। अन्तिम मतदाता नामावलीको सूची राज्यको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको थियो। अन्तिम मतदाता नामावली अनुसार, सिक्किममा मतदाताको संख्या ४,६२,४५६ पुगेको छ। जसमा पुरुष मतदाता: २,३२,११७; महिला मतदाता: २,३०,३३४ र ट्रान्सजेन्डर मतदाता ५ उल्लेख गरिएको छ। यस परिमार्जनमा १३ हजार ७१६ मतदाताको नयाँ नामांकन र ९ हजार ६६६ मतदाता हटाइएको छ। यसबाहेक, 3856 अपाङ्गता भएका व्यक्तिहरूलाई मतदाता नामावलीमा चिन्ह लगाइएको छ। अन्तिम नामावलीमा सिक्किमका सर्भिस मतदाताहरूको कुल संख्या 1,992 छ। यो अन्तिम मतदाता नामावली प्रकाशित भइसकेपछि २०२४ को आम निर्वाचनको घोषणा नभएसम्म निर्वाचन विभागले थप संशोधनका लागि फारम ६, ७, ८ वितरण गरिरहने जनाइएको छ।