कोलकाताः केन्द्रको सत्ताबाट प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई च्युत पार्ने उद्देश्यले कंग्रेसको अगुवाईमा गठित विपक्षी इण्डी गठबन्धन पश्चिम बंगालमा भने भत्किँदै गएको भान भइरहेको छ। कंग्रेस अनि तृणमूल कंग्रेस दुवैले नै आगामी लोकसभा चुनाउ एका-अर्काको विरोधमा लड़्ने स्पष्ट पारिसकेका छन् जसले चुनाउपूर्व विपक्षलाई एकजुट पार्ने प्रयासहरूलाई ठूलो झट्का पुऱ्याको छ। लोकसभा चुनाउको सीट बाँड़फाँड़लाई लिएर यी दुई दलमाझ बितेको २४ घण्टाअघि चर्को बयानबाजी भयो। प्रदेश कंग्रेस अध्यक्ष अधीर रञ्जन चौधरीले भने- ‘‘सबैभन्दा पुरानो पार्टी कंग्रेसले तृणमूलसित सीटको लागि भीख माग्नेछैन।’’ यसमाथि ममता ब्यनर्जी नेतृत्वाधिन तृणमूल कंग्रेसले भन्यो- ‘‘गठबन्धनका सहयोगीहरूलाई नानाथरी भन्नु तथा सीट साझा गर्नु एकसाथ हुन सक्दैन।’’
तृणमूलका कट्टर आलोचक चौधरीले बंगालको सत्तारूढ़ पार्टीमाथि विपक्षी गठबन्धनलाई सुदृढ़ बनाउनको सट्टा प्रधानमन्त्री नरेन्द्र मोदीको सेवामा व्यस्त रहेको आरोप लगाउँदै तीव्र प्रहार गरे। उनको टिप्पणीमाथि तृणमूलको चर्को प्रतिक्रिया आयो जसमा चौधरीको आलोचना गर्दै सोझै कंग्रेस हाईकमानलाई चेताउनी दिइयो कि उनीहरूले आफ्नो प्रदेश अध्यक्षमाथि लगाम लगाउन्। दुई दलबीच सीट बाँड़फाँड़ विवादको कारण भएको छ। भनिन्छ, तृणमूल कंग्रेसलाई मात्र दुईवटा सीट दिन चाहन्छ, तर कंग्रेसको बंगाल एकाईलाई यो प्रस्ताव स्वीकार्य छैन।
ममताले अलग्गिने संकेत दिसकेकी छन्-
मुख्यमन्त्री ममता ब्यनर्जीले गत महिना नै कंग्रेसदेखि छुट्टिएर हिँड़्ने संकेत दिएकी थिइन्। उनले भनेकी थिइन्, बंगालमा तृणमूललाई कसैको पनि साथको आवश्यक्ता छैन। भाजपाविरूद्ध एक्लै लड़्नेछौं। उनले कंग्रेस र माकपमाथि पनि भाजपासित तालमेल रहेको आरोप लगाएकी थिइन्।
बंगालको राजनीतिक स्थितिः
वर्ष २०१९- को चुनाउमा तृणमूलले लोकसभाको कुल ४२ मध्ये २२ वटा सीटमा अनि कंग्रेसले ०२ वटा सीट (बेहरामपुर र मालदा दक्षिण)- मा जित दर्ता गरेको थियो। भारतीय जनता पार्टी (भाजपा)-ले १८ वटा सीट जितेको थियो। कंग्रेस नेता चौधरीले आफ्नो निर्वाचन क्षेत्र बहरमपुरमा आयोजित एक पत्रकार सम्मेलनमा भने, ‘‘बंगालमा गठबन्धनसाई सुदृढ़ बनाउने सम्बन्धमा तृणमूल गम्भीर छैन। तृणमूलले आफूलाई सीबीआई अनि ईडीको चङ्गुलदेखि बचाउनको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुसी बनाउन तथा उनको सेवा गर्नमा लागिपरेको छ।’’
कंग्रेसलाई चारवटा सीट दिन टीएमसी तयारः
तृणमूलका केही नेताहरू भन्छन्, पार्टी ४२वटा लोकसभा सीटमध्ये कंग्रेसलाई ४ वटा सीट दिन चाहन्छ। दुवै पार्टीले पहिला पनि गठबन्धन गरेर चुनाउमा प्रतिस्पर्धा गरिसकेका छन्। यसमा वर्ष २००१- को विधानसभा चुनाउ, वर्ष २००९- को लोकसभा चुनाउ अनि वर्ष २०११- को विधानसभा चुनाउ सामेल छन्। वर्ष २०११- मा कंग्रेस-टीएमसी गठबन्धनले पश्चिम बंगालमा ३४ वर्षीय वाम मोर्चा शासनको अन्त गरेको थियो। उल्लेखनीय छ, वर्ष २०१६- देखि कंग्रेसले वामदलहरूसित मिलेर तृणमूलको विरोधमा लगातार चुनाउ लड़्दै आइरहेको छ।
-हिस