दार्जीलिङ: आज दार्जीलिङको जीडीएनएस हलमा अल ईण्डिया माईनोरिटीको चेयरम्यान नासिर अहमदसित संयुक्त इसाई एकता मञ्चको प्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ। उक्त बैठकमा क्रिश्चियन माइनोरिटीहरूको विभिन्न समस्याहरू र विकासको कुराहरूबाट वञ्चित विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त सभामा संयुक्त इसाई एकता मञ्चको पक्षबाट सभापति किरण राई, उप सभापति बेञ्जामिन आले, खरसाङबाट तिमोथी मुखिया, आनन्द लामा, कुन्दन लामा, मिरिकबाट उमेश सेवा, नक्सलबारीबाट जेपी राई, नकुल बक्पर लगायत विभिन्न क्षेत्रहरूबाट विभिन्न चर्चहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उक्त बैठकलाई बेञ्जामिन आलेले सञ्चालन गरेका थिए भने बाईबलबाट वचन प्रवीण गिरीले सेयर गरेका थिए। त्यसरी नै शुरुको प्रार्थना दानियल मुखियाले गरेका थिए। उक्त बैठकमा इसाईहरूले भोगिरहेका विभिन्न समस्याहरू र सरकारी सहुलियतहरू विषयमा चर्चा परिचर्चा गरिएको थियो। इसाई अल्पसंख्यकहरूले पनि सरकारबाट पाउने विभिन्न सहुलियतहरू पाउनु पर्ने विषयमा चर्चा गरिएको छ। सभामा प्रवीण गिरी, आनन्द लामा, तिमोथी मुखिया आदिले सम्बोधन गरेका थिए। उक्त बैठकमा अल ईण्डिया माईनोरिटीको चेयरम्यान नासिर अहमदले भविष्यमा इसाई अल्पसंख्यकहरूका लागि काम गर्ने र लोकतान्त्रिक रूपमा जिल्ला शासक समक्ष कुरा लाने आश्वासन दिएका छन्। आजको उक्त बैठक धेरै फलदायी रहेको तिमोथी मुखियाले बताएका छन्।