२६ जुलाईः कमनवेल्थ गेम्सको ठीक अघि ओलम्पिक पदक विजेता महिला बक्सर लवलीना बोरगोहेनकी नालिशमा खेल मन्त्रालयले कदम उठाएको छ। लवलीनाले सोशल मीडियामा बक्सिंग फेडरेशन अव् इण्डियामाथि मानसिक प्रताड़नाको आरोप लगाएकी छन्। लवलीनाकी भनाइअनुसार, उनकी प्रशिक्षक सन्ध्या गुरुङलाई कमनवेल्थ गेम भिलेजमा प्रवेश गर्न दिइएको छैन। यसैकारण उनले सही तरिकाले अभ्यास गर्न सकेकी छैनन् अनि यसले उनको खेल प्रभावित भइरहेको छ। लवलीनाकी नालिशपछि खेल मन्त्रालयले तुरन्तै कार्वाही शुरु गऱ्यो अनि ओलम्पिक संघसँग च्याम्पियन बक्सरकी प्रशिक्षक सन्ध्या गुरुङकी निम्ति एक्रीडेशनको व्यवस्था गर्ने आग्रह गरेको छ।
लवलीना अहिले बर्मिंघममा हुने कमनवेल्थ गेम्सको निम्ति तयारीहरूमा जुटेकी छन् तर गेम भिलेजमा उनकी प्रशिक्षक सन्ध्या गुरुङलाई प्रवेश गर्न दिइएको छैन। निराश भारतीय बक्सरले पनि सोशल मीडियमा एउटा नोट जारी गरी भनेकी छन्, आज मलाई धेरै दुखको साथ भन्नु परिरहेको छ कि मलाई मानसिक रूपले प्रताड़ित गरिँदैछ। ओलम्पिकमा पदक हासिल गर्नमा मलाई सहायता गर्ने प्रशिक्षकलाई मेरो अभ्यास अनि प्रतियोगिताको समय हरेकपल्ट हटाएर मलाई प्रताड़ित गरिँदैछ। अहिले मेरो प्रशिक्षक सन्ध्या गुरुङ कमनवेल्थ गेम्स भिलेजबाट बाहिर छिन्। उनलाई प्रवेश गर्न दिइएको छैन। यसले गर्दा मेरो अभ्यास खेलको आठ दिन अघि रोकिएको छ। मेरो दोस्रो प्रशिक्षकलाई पनि भारत फर्काइएको छ।
लवलीनाको आरोपपछि बक्सिंग फेडरेशन अव् इण्डिया (बीएफआई)-ले पनि सफाई दिएको छ। बीएफआई-ले बताएअनुसार, उनीहरू लवलीनाकी प्रशिक्षक सन्ध्या गुरुङलाई एक्रीडेशन दिलाउन लगातार प्रयासरत छन् तर यो सब ओलम्पिक संघको हातमा छ। यसबीच लवलीनाकी प्रशिक्षकलाई मंगलवारसम्म एक्रीडेशन प्राप्त हुने आशा छ। बीएफआई-का सचिव हेमन्त कलिताले भने, हामीले पहिला सबै नाम दिएका थियौं तर एउटा कोटा प्रणाली छ। क्वालीफाई गर्ने एथलीटहरूका संख्याको आधारमा २५ प्रतिशत कोटा छ। यसैकारण हामीसँग चारजना अधिकारी थिए, जसमा प्रशिक्षक, चिकित्सक आदि सामेल छन्। हामीले भारतीय ओलम्पिक संघ (आईओए)-सँग कोटालाई बढ़ाएर ८ गर्ने माग गरेका छौं। यसमा चारजना खेल गाउँमा रहनेछन् भने चारजना बाहिर। चारजना प्रशिक्षक खेलाड़ीहरूसँग अभ्यासमा समय बिताएर राति गेम भिलेजबाट बाहिर निस्किनेछन्।
लवलीनाको आरोपपछि खेल मन्त्रालय र बक्सिंग फेडरेशनको बयानपछि द्रोणाचार्य पुरस्कार विजेता प्रशिक्षक सन्ध्या गुरुङले पनि आफ्नो प्रतिक्रिया दिएकी छन्। गेम भिलेजमा जान नसक्दा उनी लवलीनालाई प्रशिक्षण दिन असमर्थ भएकी सन्ध्याले बताएकी छन्। उनले भनिन्, हाम्रा सबै बक्सरहरूले पदक जित्ने मलाई आशा छ। खेलाड़ीहरू सदा आफ्ना प्रशिक्षकलाई साथमा चाहन्छन्। म लवलीनालाई प्रशिक्षण दिन असमर्थ छु कारण मलाई गेम भिलेजमा प्रवेश गर्ने अनुमति दिइएको छैन। यो समस्या चाँड़ै हल हुने आशा गरेकी छु। यस्तो नभए म उनलाई प्रशिक्षण दिन सक्ने छुइनँ।










