सिलगढी: सिलगढी जिमखाना क्लबमा अखिल भारतीय पुरुष १ लाख पुरस्कार राशिको टेनिस प्रतियोगितामा आज एकल खेलहरूको सेमिफाइनल भयो। खेलमा ओडिसाका अमृतजय मोहन्तीले महाराष्ट्रका राज जितेन्द्र बगदाईलाई ६-४, २-६, ६-२ ले हराए। अर्को सेमिफाइनल एकल खेलमा तेलंगानाका सुहित रेड्डी लंकाले पश्चिम बंगालका फरदीन मोहम्मदलाई ७-५, ६-३ को सोझो सेटमा हराए। डबल्सको सेमिफाइनल खेलमा मध्य प्रदेशका दिग्विजय सिंहको साझेदारीमा सिलगढीका कैलाश गोदारा कर्नाटकका प्रकाश सारण र ओरिसाका चिन्मय प्रधानसँग ६-०, ६-३ ले पराजित भए।

अन्य डबल्स सेमिफाइनलमा ओरिसाका अमृतजय मोहन्ती र फरदीन मोहम्मद पश्चिम बंगालका आभ्र घोष र सरनव घोषलाई ६-०, ६-३ ले हराए। शुक्रबार बिहान ९ बजेदेखि हुने फाइनलमा एकलमा तेलंगानाका सुहित रेड्डी लंकासँग ओरिसाका अमृतजय मोहन्ती भिड्नेछन्। यस प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि सिलगढीका पुलिस आयुक्त सी सुधाकर र दार्जीलिङ र कालेबुङ रेन्जका डीआईजी डा सन्तोष निम्बालकर र अन्य खेलकुदका विशिष्ट व्यक्तित्वहरू रहनेछन्। यसबारेमा सिलगढी जिमखाना क्लबको कार्यालय प्रबन्धक निशी गुरुङले जानकारी दिएकी छिन्।