मुख्यमन्त्रीले गरे कार्यकर्ताहरूलाई पार्टीको निम्ति समर्पित बन्न आह्वान
गान्तोक: सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको विधायक दलको १९औं बैठक आज मिन्तोकगाङस्थित मुख्यमन्त्रीको सरकारी आवासमा बस्यो। एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको बैठकमा विधानसभा अध्यक्ष अरुण उप्रेती, क्याबिनेट मन्त्रीहरू, विधायकगण, मुख्यमन्त्रीका सल्लाहकारगण, मुख्यमन्त्रीका राजनीतिक सचिव र प्रेस सचिव उपस्थित थिए।
मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले स्वागत सम्बोधन राखेपछि पार्टीका सेक्रेटरी जेनरल अरुण उप्रेतीले बैठकमा उपस्थित सदस्यहरूलाई सुझाउ लगायत गुनासोहरू राख्न आमन्त्रित गरे। सबै सदस्यहरूले पार्टी गतिविधिलाई सुदृढ गर्न आफ्ना सुझाउहरू राखे भने पार्टी अध्यक्षले सबै कुराहरू ध्यानपूर्वक सुनेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
पार्टी अध्यक्ष तथा मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सबै सदस्यहरूलाई आफ्नो अधिकतम समय पार्टी गतिविधिमा समर्पित गर्न आह्वान गरे। उनले विधायकहरूलाई पार्टी कार्यालयहरूको भ्रमण गरेर जनताका समस्याहरू सम्बोधित गर्नुका साथै पार्टीका सीएलसी, बीएलसी र डब्ल्युएलसीसॅंग बैठक अनि चर्चा जारी राख्न प्रोत्साहित गरे।
मुख्यमन्त्रीले यो महिनाभरि सबै जिल्लामा चरणबद्ध रूपमा सरकारी सहुलियतहरू वितरण गरिने जानकारी गराए। उनले विपक्षीहरूले प्रचार प्रसार गरिरहेका अफवाहहरूतिर नलाग्न सुझाउ दिॅंदै आउॅंदो चुनाउको निम्ति बलियो टीमवर्कमाथि बल दिए। उनले एसकेएम सरकारका उपलब्धीहरूको बारेमा जानकारी गराउन निर्वाचन क्षेत्रगत जनसभाको श्रृङ्खलालाई अनुमोदन गरे।
मुख्यमन्त्री तामाङ बैठकमाले विभिन्न कर्मचारीहरूको स्थायीकरण, पदोन्नति र ओआरओपी कार्यान्वयनको बारेमा पनि जानकारी गराए। उनले अब एसकेएम पार्टी पूर्ण रूपमा चुनावी मोडमा प्रवेश गर्ने घोषणा गर्दै सबै कार्यकर्ताहरूलाई पार्टीको निम्ति समर्पित बन्न आह्वान गरे।