गान्तोक: राज्यका ग्वालाहरूलाई लिएर गाई पालनबारे जागरूकता गराउने उद्देश्य सहित सिक्किम मिल्क यूनियनले धारावाहिक रूपमा राज्यको सबै निर्वाचन क्षेत्रहरूमा अहिले सचेतना कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै क्रममा आज राभाङलाको सामुदायिक भवनमा मिल्क यूनियनले क्षेत्रका ग्वालाहरुलाई लिएर जनचेतना अनि ग्वाला समावेशी कार्यक्रम सम्पन्न गऱ्यो। आजको कार्यक्रममा क्यूजिङ बर्फुङ जिल्ला टेरिटोरियलका जिल्ला पञ्चायत सदस्य यशोधा क्षेत्री मुख्य अतिथिकोरूपमा रुपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा सिक्किम मिल्क यूनियनका प्रवन्धक निदेशक डा. तिलक घतानी, भेटनरी अधिकारी डा. देवेन्द्र मंगर लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित ग्वालाहरुको हितमा वर्तमान सरकारले गरिरहेको विभिन्न कार्यक्रमहरूबारे वृत्तचित्र मार्फत जानकारी गराइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मिल्क यूनियनका प्रवन्धक निदेशक डा. तिलक घतानीले अब कृषकहरूले दूधको गुणस्तरमा पनि ध्यान दिनुपर्ने ग्वालाहरुलाई परामर्श दिए। दूधको मात्रा अनि गुणस्तरमा वृद्धि गर्नको निम्ति गाईलाई के कस्ता आहार अनि कति मात्रामा दिनुपर्ने विषयमा ग्वालाहरुलाई विस्तृत रूपमा जानकारी गराए। गाई गोठको व्यवस्थापन अनि गाईसँग गर्नुपर्ने व्यवहारमाथि पनि ग्वालाहरुलाई तकनिकी जानकारी गराए। ग्वालाहरुले अब गाईपालन व्यवसायिक रूपमा गर्नुपर्ने कुरामा पनि उनले जोड दिए। उनले आज कार्यक्रममा उपस्थित ग्वालाहरूले भोग्नु परिरहेको विभिन्न समस्याहरू विषयमा पनि अन्तर्क्रिया गरे। यसको साथै वर्तमान सरकारले ग्वालाहरुको हितमा गरिरहेको विभिन्न कार्यक्रम शुरु गरेको जानकारी गराए। यसको साथै भेटनेरी अधिकारी डा. देवेन्द्र मंगरले गाई अनि ग्वाली व्यवस्थापनबारे विभिन्न वैज्ञानिक पक्षबारे ग्वालाहरुलाई प्रकाश पारे। आजको कार्यक्रममा सिस्को व्याङ्कबाट आएका प्रतिनिधिले ग्वालाहरुले के कस्तो प्रकारले ऋणहरु प्राप्त गर्न सक्छन् भन्नेबारेमा अवगत गराए।