केही हल्लाले हल्लाएको छ मैदानलाई नै। खासमा एक कान दुई कान मैदान हुनुले खोल्चा, झोडा, भस्मे, धुरा, खेत, गैरी, पाखा, पखेरु सबै ढाकेको छ। भनौँ भने कथावाचक पनि हल्लिएको छ। न्यारेट गर्ने कुरा नै हल्लिएको छ। हल्लै हल्लाले हल्लिनु र भित्रभित्रै चकमन्नले हल्लिनु आकास पातालको फरक रहेछ। बल्ल त बुझ्यो कथावाचकले। पहिले पहिले हल्लाले जितेको थिएछ कथावाचकलाई। उसले देखेको न्यारेसन यस्तो छ:
“ हामीलाई युद्ध चाहिएको होइन पटक्कै। तर यो संसारमा अस्तित्वको युद्ध त लड्नै पर्ने रहेछ। सत्य त त्यही रहेछ।”
– यसरी परिभाषाजस्तो बोल्यो र चुपचाप भयो विश्राम। चुपचाप मात्र होइन मोटामोटी निर्जीव नै भयो ऊ। एतिबेला तपाईँ कोही पनि पाठकले छुनुभयो भने ऊ त्यहीँ ढल्नेछ। युद्धको कुरा गर्ने मान्छे कसरी यसरी निर्जीव बन्नसक्छ? प्रश्न जन्मिन्छ नै। अचललाई चलायमान अरु न्यासनले पारेको छ यहाँ। हेर्दै जानुहोस् है कथालाई:
“ होइन हामी तयार हुनुपर्छ आ-आफ्नै क्षेत्रमा। पढ्नेले पढ्दै जानुपर्छ, खोज्नेले खोतल्दै जानुपर्छ इतिहास, दर्शन। हामीलाई सप्पै चाहिएको छ – ज्ञान, विज्ञान, सङ्गीत, साहित्य, भाषा, कला, सप्पै। नक्सा बदलाउनु सक्नुपर्छ अब हामीले आफ्नै नाकको। आफ्नै रङ रुपको। रवाफको। खानपिनको। नियमको। संविधानको।”
– भन्ने चाहिँ आवाज। ( आवाज जो जहिँ कहिँ निस्कने होइन। )
चुपचाप बसिरहेको कथावाचकको मनबाट फुत्त निस्क्यो एउटा पात्र। न्यारेटिभको भिडमै उभिन पुग्यो ऊ। अचानक नै प्राप्ति भएको नाम उसको सङ्केत। सङ्केत नाम गरिएको त्यो पात्रले भिडमा हठात् मुख खोल्यो- ‘ खासमा अहिले हाम्रो समस्या भनेको आफै हो, परिवर्तित आफू। यो परिवर्तित आफू आफैले चाहेको परिवर्तनको नतिजा होइन। यो युगका केही विश्वव्यापी दिमागहरूले निर्माण गरेको योजनाको प्रतिफल हो। त्यसैले हाम्रो मुद्दा भनेको आफैले आफैलाई परिवर्तन गर्नु हो।’
यति कुरा फलाकी राखेर कथावाचकको गिदीबाट निस्किएको त्यो पात्र सुइत्त हरायो। सुइत्त हराइनु तर कुनै आश्चर्य वा नयाँ कुरो होइन। जो पनि हराइरहेका छन् हामीमा। सबै त हराउँछन्।
चुपचाप निहुरिएर उभेको छ भिडमा, विवेक। मौन छ अघिदेखि नै। परख गर्नमा तल्लिन छ ऊ यी विचारहरू।
मैदानमा अरू पनि छन् उभेकाहरू।
विवेकमाथि पूर्ण विश्वास छ ती मित्रहरूको।
बिस्तारै दुई हात मोल्दै, हातका पाखुरी सुर्किँदै खुट्टा केही तन्काको जस्तो पनि गऱ्यो विवेकले। सप्पै मित्रहरूतिर आँखा डुलाएर आँखीभौँ केही माथितिर उठाउँदै बोल्यो – “ नट् एगेन । अबको युद्ध सापटी विवेकको युद्ध होइन, नितान्त हाम्रो र नितान्त मौलिक हुनु पर्नेछ, र हुने नै छ; जुन कुरा उनीहरूले सोंचेका पनि हुने छैनन्। तयार बन साथी हो; तयार पार तिम्रो मस्तिष्कलाई; र हटाऊ अन्धोपनको पर्दा तिम्रो आँखाबाट। अब हामी पुस्तकालयमा भेट्नु पर्नेछ।”
उभेकाहरूले स्वर मिलाएर बोले अन्तिम वाक्य-
“ त्यसपछि के हुन्छ होलाई? ”
मैदानमा उभेका अन्यहरु पुराना घाउ कोट्याइ रहेछन् आ-आफ्ना शरीरमा। त्यसपछिको अर्थ उनीहरुले आ-आफ्नै प्रकारले लगाउनेछन्। त्यसपछिको अर्थ लगाउने जिम्मा अब कथावाचकलाई छैन। अबका अर्थ्याइहरू पाठकका हुनेछन्। पात्रहरूका हुनेछन्, जुन पात्रहरू अघि नै तपाईँहरूको दिमागमा पसिसकेका छन्।
कथावाचकको दिमागमा यस्तो दृश्य आयो:
झुलुलुलुलु सल्केर पुस्तक मान्छेका टाउका टाउकामा उभेका छन्। पन्ना पन्ना सल्केर झरिला बनेका अक्षरहरू झर्दैछन् चिसा बाटामा टाउका टाउकाबाट।