जलपाईगढ़ी। मेटली प्रखण्डको बाताबारी चिया कमानमा आज बिहान गेट मिटिङको आयोजन गरियो। चिया कमानका श्रमिकहरूलाई तत्काल न्यूनतम वेतन भुक्तान गर्ने माग गर्दै उक्त गेट मिटिङ गरिएको थियो। चिया कमान मजदूर यूनियनको तर्फबाट कमानको फ्याक्ट्री गेट नजिक गेट मिटिङ गरेको थियो। लगभग दुई घण्टाको गेट मिटिङपछि मजदूर आ-आफ्नो काममा फर्के।
चिया कमान श्रमिक यूनियनको मेटली प्रखण्ड समितिका अध्यक्ष कर्णबहादुर लामाले भने, ‘१५ त्रिपक्षीय बैठकपछि पनि चिया कमान मजदूरहरूलाई न्यूनतम मजदूरीको भुक्तान गरिएको छैन। साथै मजदूरहरूलाई जमीनको पट्टा दिने, सेवानिवृत्तिको उमेर बढ़ाएर ६० गरिने आदि माग पनि छ। सरकार र मालिक चिया कमान मजदूरहरूको निम्ति न्यूनतम मजदूरी दिनदेखि जोगिने प्रयास गरिरहेका छन्। मागहरू पूरा हुञ्जेलसम्म हाम्रो आन्दोलन जारी रहनेछ। मागहरूको समर्थनमा कमान प्रबन्धकलाई माग पत्र पनि सुम्पिएको छ’। गेट मिटिङ सीबीएमयूको बाताबारी चिया कमान शाखा सचिव सीतालाल उराउँ, उपाध्यक्ष सुमी छोरे र अन्य उपस्थित थिए।