गान्तोक दूरदर्शन केन्द्रको टावर तोड्ने प्रक्रिया शुरू

Screenshot_20240103_193559_Chrome.jpg

गान्तोक: राजधानीको इञ्चे गुम्पा छेउ स्थापित दूरदर्शन केन्द्र, गान्तोकको १०० मिटर अग्लो टावरलाई तोड्ने निर्णय लिइएको छ। यो टावर जोखिमपूर्ण बनेकाले यसलाई तोड्ने निर्णय गरिएको हो।

यो टावर फेददेखि ५६ मिटर माथिसम्म कङ्क्रीट रहेको छ भने रहल ४४ मिटर स्टीलले निर्माण गरिएको छ। यसलाई भत्काएर अब स्टीलको ५० मिटर अग्लो टावर निर्माण गरिने बताइएको छ।

दूरदर्शन केन्द्र, गान्तोकका केन्द्र प्रमुख निरज कुमार पाण्डेले १९९१ सालमा निर्माण पूरा गरिएको यस टावरलाई तोड्ने निर्णय लिइएको जानकारी गराए। पत्रकारहरूसित कुराकानी गर्दै उनले सर्वेमा यो टावर जोखिमपूर्ण पाइएको र सम्बन्धित निकायले यसलाई तत्काल तोड्न सुझाउ दिएकाले यसलाई अब तोड्ने प्रक्रिया शुरू गरिएको बताए। उनले यो टावर ढलेर कुनै प्रकारको अप्रिय घटना नहोस् भनेर यसलाई तोड्ने निर्णय लिइएको थप जानकारी गराए।

केन्द्र प्रमुख पाण्डले बताए अनुसार, यो टावर १९९१ सालमा निर्माण पूरा भएदेखि नै बिस्तारै ढल्किन थालेको थियो। यो टावर अहिले लगभग ४.५ मिटरसम्म झुकिसकेको छ। यो टावरले डीडी न्यूज र डीडी नेशनल लगायत एसआईबी, बीएसएनएल र एफएमलाई सेवा पुऱ्याइरहेको थियो। अब ५० मिटरको नयॉं स्टील स्ट्रक्चर स्थापित गरिने छ।

उनले चेन्नईको सीआरसी, शिलङको जीएसआई र सिक्किम सरकारको माइन्स एण्ड जोलोजीले यस टावरको स्थितिलाई लिएर सर्वे गरेको थियो र अन्तिममा सीआरसी चेन्नईले यो टावरको स्थिति खतरनाक रहेको बताएको जानकारी गराए। साथै, यस टावरलाई तत्काल तोड्न सुझाउ दिएको उनले बताए।

उनले आगामी २४ जनवरीसम्म यस टावरको ४४ मिटर स्टीलको भाग तोडेर सकिने छ भने रहल भाग २४ जूनसम्म तोडेर सकिने बताए। उनले २४ जूनसम्ममा ५० मिटरको नयॉं सटील स्ट्रक्चर पनि तयार गरिने छ भनी बताए। त्यस समयसम्मका लागि एफएम बिल्डिङलाई प्रयोगमा ल्याउन व्यवस्था गरिएको उनले अवगत गराए। एक प्रश्नको जवाफमा केन्द्र प्रमुखले यो टावर सिन्किङ्ग जोनमा अनि टेक्टोनिक प्लेटमाथि निर्माण गरिएकाले यस्तो स्थिति उत्पन्न भएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement