गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको मण्डलस्तरीय समन्वय बैठक आज बुर्तुकमा बस्यो। बैठकमा प्रदेश भाजपा अध्यक्ष एवं क्षेत्र विधायक डीआर थापा लगायत मण्डल कार्यकारीहरू र बुथ कार्यकर्ताहरू उपस्थित थिए। उक्त जानकारी प्रदेश भाजपाले आज प्रेस विज्ञप्तिमा दिएको छ।
बैठकमा सांगठनिक विषयहरूका साथै क्षेत्रमा पार्टीलाई सुदृढ़ बनाउन विभिन्न गतिविधिहरूमाथि चर्चा भयो। यस अवधि धेरै नयॉं सदस्यहरू भाजपामा सामेल भएको बताइएको छ।
प्रदेश अध्यक्ष थापाले राज्य सम्बन्धित महत्वपूर्ण विषयहरूको जानकारी गराउॅंदै समस्या समाधानको निम्ति कार्यकर्ताहरूलाई कड़ा परिश्रम गर्न आह्वान गरे। उनले क्षेत्रीय स्तरमा नेताहरू सिक्किमको भविष्यलाई दाउमा राखेर दोष लगाउन ध्यान केन्द्रित गरिरहेको बताए।
उनले प्रदेश भाजपा सिक्किमको सुरक्षा, स्वास्थ्य देखभाल, शिक्षा लगायत लिम्बू तामाङ सीट आरक्षण र छुटिएका समुदायहरूको लम्बित माग आदि जस्ता महत्वपूर्ण मुद्दाहरूको समाधान गर्ने लक्ष्य लिएर काम गरिरहेको छ भनी बताए। उनले भाजपालाई अवसर दिएको खण्डमा समाधान अवश्य प्राप्त हुने बैठकमा आश्वासन दिए।








