खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको आज मित्र संघ गोलाई पाखा तीनधारे र मिक्स अफ् बोइज चुनभट्टीमाझ सम्पन्न भएको छ। आजको खेलमा मित्र संघले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा १६३ रनको लक्ष्य दिएको थियो। मित्र संघको पक्षबाट राजीव प्रधानले ४३ रन, शित्तम प्रधानले ४३ रन र बिग्नेश्वर प्रधानले ३६ रन बनाएका थिए। १६३ रनको लक्ष्यलाई खेदो गर्दै मिक्स अफ् बोइज चुनभट्टीले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा 8 विकेट गुमाएर केवल १२४ रन मात्रै बनाएको थियो। उक्त खेल मित्र संघले ३९ रनले जितेको थियो। यस खेलमा ब्याटिङमा ३६ रन र बलिङमा २ विकेट लिने मित्र संघको बिग्नेश्वर प्रधान म्यान अफ् द म्याच भएका थिए। त्यसरी नै हिजो भएको खेल रूम्बा ईलेभेन र मिक्स अप्स बोइजमाझ भएको थियो जसमा रुम्बा ईलेभेनले टस जितेर ब्याटिङ गर्दै १५ ओभरमा ११० रन बनाएको थियो। रुम्बा ईलेभेनबाट नरसाङ लामाले सर्वाधिक ४३ रन बनाएको थियो। यस खेलमा चुनभट्टी मिक्स अप बोइजले ४ विकेटले खेल जितेको थियो। चुनभट्टीको पक्षमा रतनले ४६ रन बनाएका थिए। रम्बा ईलेभेनको पक्षमा तीनधारे पुलिस आउट पोष्टको पूर्व ओसी मानव रोयले ब्याटिङमा १८ रन र बलिङमा २ विकेट लिएका थिए। भोलि हुने खेल सिविटार र नवज्योति संघमाझ हुने आयोजक समितिको पक्षमा शुभम प्रधानले बताएका छन्।









