गेजिङ: क्योङ्गसा सरकारी कन्या उच्चतर माध्यमिक विद्यालयमा १२०औं इमान सिंह चेमजोङको जन्म जयन्ती भव्यरूपमा पालन गरियो। याकथुङ साप्सोक साप्लोन चुम्भो, सुखिमद्वारा आयोजित जन्म जयन्तीमा मन्त्री तथा समारोह समितिका प्रमुख संरक्षक भीमहाङ लिम्बू मुख्य अतिथि थिए।
कार्यक्रममा लोक सभा सांसद डा. इन्द्रहाङ लिम्बू तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
मुख्य अतिथि मन्त्री लिम्बूले आफ्नो संक्षिप्त सम्बोधनमा कार्यक्रमको सफल आयोजनको निम्ति आयोजक समितिलाई बधाई दिए। उनले यो कार्यक्रम लिम्बूहरूको परम्परा, संस्कृति, रीति रिवाज प्रदर्शित गर्नुका साथै साहित्यिक प्रतीभाहरूलाई प्रोत्साहित गर्नु रहेको बताए।
उनले राज्य सरकार लिम्बू समुदायको कल्याण र उत्थानको निम्ति इमान्दार रहेको बताए। उनले माङहिम, सामुदायिक केन्द्र र सम्बन्धित परियोजनाहरूको निर्माणको निम्ति सरकारले ठूलो रकम आवण्टित गरेको जानकारी गराए। आफ्नो सम्बोधनमा मन्त्रीले सरकार लिम्बू-तामाङको सीट आरक्षणलाई लिएर गम्भीर रहेको र यस दिशामा सकारात्मक रूपले काम गरिरहेको छ भनी बताए।
यस अवसरमा साहित्यिक कार्यक्रमका साथै कलाकारहरूले पारम्परिक लिम्बू नृत्य प्रस्तुत गरे। कार्यक्रममा ललित लिम्बूलाई चेमजोङ साहित्य पुरस्कार र स्वर्गीय पीएल सुब्बालाई मरणोपरान्त चेमजोङ विशेष पुरस्कार २०२४ ले सम्मानित गरियो।











