गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सम्पूर्ण सिक्किमेली जनगणमा नयाँ वर्ष २०२४ को हार्दिक मङ्गलमय शुभकामना अर्पण गरेको छ।
एसडीएफले आज जारी शुभकामना सन्देशमा भनेको छ, ‘नयाँ वर्ष २०२४ को आरम्भ भएको यस सुखद् अवसरमा राज्यवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षको सुरुवात भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक छ।’
एसडीएफले भनेको छ, ‘सिक्किमले विगतका दिनहरू आफ्नो अस्तित्वमाथि बारम्बार प्रहार सहन गरेको तितो सत्य हामी छ र हामी माझ सिक्किम बचाउने ठूलो जिम्मेवारी खड़ा भएको छ। यसैले नयाँ वर्षमा हामी सबैमा सिक्किमको अस्तित्वको सुरक्षा गर्ने जिम्मेवारी बोध होस्।’ एसडीएफले सबै मिलेर भावी सन्ततिका लागि सुरक्षित, समृद्ध र सुखी सिक्किम निर्माण गरौं भनी आह्वान गरेको छ।
एसडीएफले अघि भनेको छ, ‘सन् २०२४ आम चुनाउको वर्ष पनि हो। स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले आगामी विधानसभा र लोकसभा चुनाउलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी पनि हो।’
नयाँ वर्ष २०२४ ले राज्यमा दिगो शान्ति, सुदृढ एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी एसडीएफले सबैमा शुभकामना अर्पण गरेको छ।










